बिर्तामोड २४ पुस। (पूर्व खबर)

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) को ३५औँ वार्षिक उत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुवत न्यौपाने र सञ्चारकर्मी सुरेन्द्र भण्डारी सम्मानित भएका छन्। शैक्षिक अभियानलाई प्रवर्द्धन गर्न सञ्चार माध्यममार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।
प्याप्सन नेपालका केन्द्रीय वरिष्ठ सल्लाहकार टिकाराम पुरीले एक समारोहका बीच सञ्चारकर्मी न्यौपाने र भण्डारीसहित शिक्षा क्षेत्रको उन्नयनमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नुभयो। उहाँले शिक्षा र सञ्चार एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै शैक्षिक सुधार र जनचेतना अभिवृद्धिमा सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
३५औँ वार्षिक दिवसको अवसर पारी प्याप्सन झापाले जिल्लाभर विभिन्न सांस्कृतिक, शैक्षिक तथा शैक्षिक अभियानसँग जोडिएका कार्यक्रमहरू आयोजना गरेको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, शैक्षिक उपलब्धि झल्काउने प्रदर्शनी तथा अनुभव आदान–प्रदानका सत्रहरू सञ्चालन गरिएका थिए।
झापा शाखाका अध्यक्ष छत्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका संस्थापक तथा दीर्घकालदेखि शिक्षा अभियानमा सक्रिय व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। दमकस्थित एभरेस्ट स्कुलका संस्थापक कुशराज प्याकुरेल, बिर्तामोडस्थित विराट ज्योतिका गणेश ओलीलगायत लामो समयदेखि शिक्षण पेशा र शैक्षिक अभियानमा संलग्न व्यक्तिहरूलाई सम्मान गरिएको झापा शाखाका सचिव एलपी उप्रेतीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र समावेशी शैक्षिक वातावरण निर्माणमा खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले राज्य र निजी क्षेत्रबीच सहकार्य बढाउँदै शिक्षा प्रणालीलाई समयानुकूल बनाइनुपर्नेमा जोड दिए।
सम्मानित सञ्चारकर्मी न्यौपाने र भण्डारीले शिक्षा क्षेत्रको सकारात्मक पक्ष उजागर गर्न र सुधारका विषयमा निरन्तर कलम चलाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनीहरूले शैक्षिक संस्थाहरूको उत्तरदायित्व, पारदर्शिता र गुणस्तरप्रति सञ्चार जगत् सधैं सचेत रहने बताएका छन्।
प्याप्सन झापाले आगामी दिनमा पनि शिक्षा, संस्कृति र सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ। ३५औँ वार्षिक उत्सवले शिक्षा र सञ्चारबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूको धारणा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *