बिर्तामोड । प्रेस क्लब भद्रपुरको नयाँ ९ सदस्यीय कार्यसमिति चयन भएको छ । राजबाबु शंकरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा रोहित काफ्ले र महासचिवमा भेषराज नेपाल (राजन) निर्वाचित भएका छन् । त्यस्तै सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा ईसा प्रधान चयन भएका छन् । सदस्यहरूमा नितेश सिंह, सन्तोष शर्मा, लोकबहादुर कुँवर र सुनिता अधिकारी चयन भएका छन् ।
महासचिव पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । महासचिव पदका लागि आज भएको निर्वाचनमा भेषराज नेपालले निवर्तमान महासचिव डिल्लीरमण नेपाललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
गत हप्ता कलबडगुडीमा सम्पन्न प्रेस क्लबको साधारण सभाबाट अध्यक्ष पदमा राजबाबु शंकर सर्वसम्मत चयन भइसकेका थिए । केही पदमा सहमतिको प्रयास भए पनि अन्ततः महासचिव पदमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट टुंगो लागेको निर्वाचन समितिका संयोजक चिन्तामणि दाहालले जानकारी दिए ।
निर्वाचन तथा बन्दसूत्रको तयारी प्रेस क्लबका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली र पूर्व अध्यक्ष कृष्ण दाहालको मण्डलले अगाडि बढाएको थियो । सहमति जुट्न नसकेपछि लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
नव निर्वाचित कार्यसमितिले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत हकहित तथा स्थानीय सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
