बन्द सत्रमा देउवालाई सम्बोधन गर्न गगन थापाको सुझाव- ६२%ले गरे नामदर्ता

राजकुमार ओली, काठमाडौँ, २७पुष

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पहिलो दिन आज साँझसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
महाधिवेशन सचिवालयका अनुसार देशभरका कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये साँझसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराएका छन् । यसअनुसार २ हजार ९०० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ९ बजेदेखि सुरु गरिएको थियो ।
विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा दुई दिनसम्म चल्ने यस भेलाका लागि भृकुटीमण्डप परिसरमा आठवटा छुट्टाछुट्टै स्टलमार्फत नाम दर्ता र परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ । फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार नाम दर्ता तथा कार्ड वितरणको प्रक्रिया अहिले पनि जारी रहेको छ ।
यसअघि, नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रूपमा विशेष महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा विभिन्न नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा सम्बोधन गर्ने नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबार हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गर्न आग्रह गरेका छन् । उनीहरूले विशेष महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउने पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
सहमहामन्त्री फर्मुल्ला मन्सुरले भोलि हुने बन्द सत्रमा सभापति देउवाको उपस्थितिले पार्टीमा एकताको सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीभित्र देखिएका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्तै, केन्द्रीय सदस्य महेश आचार्यले यो महाधिवेशनले पार्टी विधानअनुसार चल्नुपर्ने र अरूको कुरा नसुन्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।
विशेष महाधिवेशनका आगामी सत्रहरूमा पार्टीको संगठनात्मक अवस्था, विधान र आन्तरिक एकताका विषयमा व्यापक छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array