बिर्तामोड, २६पुष,(पूर्व खबर)

दमक नगरपालिका–१७ का पूर्व वडाध्यक्ष भक्ति सिटौलाको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाउँदै पत्र काटेको छ। सार्वजनिक सडक मिचेर घर तथा संरचना निर्माण गरेको र राज्यको सम्पत्ति दोहन गरेको उजुरिका आरोपमा अख्तियार इटहरी कार्यालयमा उजुरी परेपछि छानबिन सुरु गरिएको हो।
उजुरीमा सिटौलाले सार्वजनिक सडक अतिक्रमण गरी निजी संरचना बनाएको उल्लेख छ। सोही विषयमा आवश्यक कागजात संकलन तथा तथ्य प्रमाण जुटाउन अख्तियारले सम्बन्धित निकायलाई पत्राचार गरेको जनाएको छ।
यसैबीच, सिटौलामाथि नेपाल सरकारको लेटरप्याड र सरकारी छाप दुरुपयोग गर्दै जालसाँझ र कृते काम गरेको आरोपमा जिल्ला अदालत झापामा मुद्दा समेत दर्ता भइसकेको छ। सोही प्रकरणसँग जोडिएका दमकका अन्यको समेत छानबिन प्रक्रिया सुरु गरेको पाइएको हो। सिटौलाको दमकमा रहेको सम्पत्ति मालपोत कार्यालय दमकमार्फत रोक्का राखिएको जनाइएको छ। दमक ८ का एक जना बिष्ट परिवारले समेत नक्कली नागरिकता बनाउन सहयोग गरेको र उनको नाममा समेत प्रहरीले छानबिन तीव्र पारेको पाइएको छ। पछिल्लो समय भुटानी शरणार्थी हरूलाई झापामा र दमक क्षेत्रमा नक्कली नागरिकता बनाउन सहयोग गर्ने, नक्कली नागरिकता बनाउने र नक्कली कागजपत्रहरू बनाएर प्रयोग गर्दै नेपाल सरकारको सम्पत्ति समेत दोहन गर्नेको संख्या बढेपछि दमक प्रहरीले निगरानी तीव्र पारेको बताएको हो।
कानुनअनुसार जालसाँझ र कृते सरकारी कागपत्रको मुद्दामा दोषी ठहर भएमा पाँच वर्षसम्म कैद, पाँच लाख रुपैयाँसम्म जरिवाना र जालसाँझमार्फत आर्जन गरिएको सम्पत्ति जफत हुन सक्ने कानुनि व्यवस्था रहेको छ।
यसबीच, गत हप्ता मात्रै बिर्तामोड नगरपालिका–३ मा जिल्ला प्रशासन कार्यालय झापाले एक युवकलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो। उनीमाथि नक्कली नागरिकता बनाएको, नेपाल सरकारका छाप दुरुपयोग गरेको र नक्कली कागजात तयार गर्न सहयोग गरेको आरोप छ।
पछिल्लो समय झापाका विभिन्न स्थानमा नक्कली नागरिकता, जालसाँझ र कृतेका घटनाहरू क्रमशः बाहिर आउन थालेका छन्। मालपोत कार्यालय भद्रपुरमा समेत नक्कली मोही खडा गरी जग्गा हडप्ने गिरोह सक्रिय रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यस्ता घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै प्रहरीसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार नागरिकता दुरुपयोग र नक्कली कागजातसम्बन्धी अपराध बढ्दै गएकाले प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *