बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा क्षेत्र नम्बर–५ बाट पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झनै धेरै मतसहित विजयी हुने दाबी गरेका छन् ।
मेयर बालेन शाह झापा आउने चर्चा चलिरहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गिरीले बालेनको उपस्थितिले एमालेको मतान्तर झनै बढ्ने बताएका हुन् । पार्टी अध्यक्ष ओलीको नाम झापा–५ बाट एकल सिफारिस भइसकेको जानकारी दिँदै उनले बालेन आए पनि एमालेको चुनावी परिणाममा कुनै प्रभाव नपर्ने दाबी गरे ।
‘पपुलिष्ट नाराकै भरमा बाहिरी भूगोलमा आएर चुनाव जित्न सजिलो हुँदैन,’ गिरीले भने, ‘हामीले जनताका लागि काम गरेका छौँ । बालेन झापाबाट उम्मेदवार बन्छन् भन्नेमा विश्वास छैन, आइहाले पनि फरक पर्दैन ।’
अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग ‘अदृश्य शक्ति’ ले जबर्जस्ती मिलाएको आरोप समेत लगाए । ‘कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन,’ उनले भने, ‘रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको देखिन्छ । क्षेत्रमा रास्वपाका कार्यकर्ताले पनि बालेनलाई स्वीकार गर्न सकेका छैनन् ।’
बालेनलाई अदृश्य शक्तिहरूले नै प्रधानमन्त्रीको रूपमा अघि सारेको दाबी गर्दै गिरीले उक्त विषय रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए । ‘रास्वपा निर्माण गर्न रवि लामिछानेसहितका नेता–कार्यकर्ताले ठूलो मिहिनेत गरेका छन्,’ उनले भने, ‘प्रधानमन्त्री अरू कसैलाई बनाउने कुरा स्वीकार्ने अवस्था उनीहरूमा छैन ।’ परिस्थितिजन्य बाध्यताका कारण मात्र रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको गिरीको भनाइ छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने उद्देश्यले ‘बालेन फण्डा’ सिर्जना गरिएको हुन सक्ने उनको दाबी छ । एमाले आफ्नो संगठनात्मक शक्तिको बलमा निर्वाचन लड्ने र झापा–५ बाट अध्यक्ष ओली अत्यधिक मतका साथ विजयी हुने गिरीले बताए ।
विकास निर्माणका कामप्रति क्षेत्रका जनता सन्तुष्ट रहेको उल्लेख गर्दै उनले बालेन ‘टुरिस्ट उम्मेदवार’ बने ओलीलाई चुनाव जित्न झनै सहज हुने दाबी गरे । सडक, पुलसहितका पूर्वाधार विकासमा उल्लेखनीय परिवर्तन भएकाले जनताको समर्थन एमालेले पाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका थिए । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै ओली दोब्बरभन्दा बढी मतान्तरसहित निर्वाचित बनेका थिए । एक लाख २ हजार १५० मत खसेकोमा ९८ हजार ६३१ मत सदर भएको थियो । त्यसमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए भने अधिकारीले २३ हजार ७४३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *