बिर्तामोड, पुस २९ । जिल्ला प्रशासन कार्यालय झापाले दर्ता विना सञ्चालनमा रहेको बिर्तामोडको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा ताला लगाएको छ।
अनुगमनका क्रममा बिर्तामोड–१ मा दर्ता नगरी सञ्चालन भइरहेको ‘नविल ओभरसिज’ नामक म्यानपावर कम्पनीमा प्रशासनले ताला लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा खटिएको जिल्ला प्रशासन कार्यालय झापाको अनुगमन टोलीले छापा मार्दा कम्पनीका दर्ता कागजात, खातापाता तथा वैदेशिक रोजगार ऐनअनुसार आवश्यक प्रमाणपत्रहरू फेला पार्न नसकेको जनाएको छ।
अनुगमनका क्रममा कम्पनी सञ्चालक सञ्जय योङहाङले आवश्यक कागजात देखाउन नसकेपछि इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा म्यानपावर कम्पनीमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंले जानकारी दिए।
प्रसाईंका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई आकर्षक प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढ्दै गएकाले प्रशासनले अनुगमनलाई तीव्र बनाएको हो।
यसअघि पनि प्रशासनले बिर्तामोडमा सञ्चालनमा रहेको गोदावरी डायग्नोष्टिक सेन्टर मा चिकित्सकको उपस्थितिबिनै वैदेशिक रोजगार प्रयोजनका लागि स्वास्थ्य परीक्षण रिपोर्ट वितरण हुँदै आएको पुष्टि भएपछि ताला लगाएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंको नेतृत्वमा खटिएको टोलीले उजुरीका आधारमा गरेको अनुगमनका क्रममा उक्त सेन्टरमा कुनै चिकित्सक उपस्थित नभएको अवस्थामा ‘डा. डिके झा’ को नाम र हस्ताक्षर प्रयोग गरी रिपोर्ट वितरण भइरहेको गम्भीर लापरबाही फेला पारेको थियो।
अनुगमनमा संलग्न अधिकारीहरूका अनुसार नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गर्दै आएको उक्त डायग्नोष्टिक सेन्टरले विगत पाँच वर्षदेखि यही शैलीमा वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण रिपोर्ट वितरण गर्दै आएको प्रारम्भिक तथ्य खुलेको छ।
