गृल तथा स्टील व्यवसायी संघ झापाको अध्यक्षमा खगेन्द्र प्रसाईँ in सर्वसम्मत

बिर्तामोड १० माघ ( पूर्वखबर)

गृल तथा स्टील व्यवसायी संघ झापाको अध्यक्षमा खगेन्द्र प्रसाद प्रसाईँ सर्वसम्मत रूपमा चयन हुनुभएको छ। झापाको पर्यटकीय क्षेत्र सुकेडाँगी वनभोज स्थलमा शनिबार सम्पन्न संघको १४ औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट प्रसाईँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो।
निर्वाचन समितिका संयोजक लक्ष्मी गौतमका अनुसार नवगठित कार्यसमितिको उपाध्यक्षमा छत्रबहादुर खड्का, लक्ष्मी मण्डल र प्रकाश आचार्य चयन हुनुभएको छ। सचिवमा मेदनीप्रसाद प्रसाईँ, सहसचिवमा अनिल भट्टराई तथा कोषाध्यक्षमा माधवप्रसाद खतिवडा सर्वसम्मत चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा लक्ष्मीप्रसाद सापकोटा, धुर्बराज राई, हरिबहादुर विश्वकर्मा, भोलानाथ कडरीया, अमृत कटुवाल र अबिलाल राजवंशी चयन हुनुभएको निर्वाचन समिति संयोजक गौतमले जानकारी दिनुभयो।
साधारणसभा गृल तथा स्टील व्यवसायी संघ झापाका अध्यक्ष तेजेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा तथा गृल तथा स्टील व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बिमल नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष उप्रेतीले संघको संगठनात्मक गतिविधि, व्यवसायीहरूले भोग्दै आएका चुनौती र आगामी कार्ययोजनासमेत समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी संघका कोषाध्यक्ष माधवप्रसाद खतिवडाले गत आर्थिक वर्षको आय–व्यय विवरण समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा प्रस्तुत दुवै प्रतिवेदन बन्द सत्रमार्फत छलफल गरी पारित गरिएको थियो।
कार्यक्रमका अवसरमा काकडभिट्टा निवासी तथा लामो समयदेखि गृल तथा स्टील व्यवसायमा आवद्ध व्यवसायी लक्ष्मी मण्डललाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय उपाध्यक्ष बिमल नेपाल, गृल तथा स्टील व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष नवीन सेढाई, दमक इकाइ उपसमिति अध्यक्ष पोषण दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै महासंघका केन्द्रीय सदस्यहरू एकराज भट्टराई, प्रकाश आचार्यलगायतको उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष खगेन्द्र प्रसाईँले अध्यक्षको प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै आफ्नो कार्यकालमा वैज्ञानिक मूल्यसूची लागू गर्ने, गृल तथा स्टील व्यवसायीहरूको बीमा व्यवस्था गर्ने, राहत कोष स्थापना गर्ने लगायतका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले व्यवसायीहरूको हकहित संरक्षण र संघलाई थप सुदृढ बनाउनेतर्फ आफू केन्द्रित रहने बताउनुभयो।
जिल्लाभरिका गृल तथा स्टील व्यवसायीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई संघका वरिष्ठ उपाध्यक्ष केवल कटुवालले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव लक्ष्मी गौतमले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array