राजकुमार ओली हिमशिखर टेलिभिजन
बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड झापाको अध्यक्ष पदमा युवराज गिरी निर्वाचित भएका छन्। सोमबार झापाको बिर्तामोडस्थित सङ्घकै कार्यालयमा सम्पन्न निर्वाचनमा गिरीले सहारा नेपालका लेखा समिति संयोजक उपेन्द्र ओलीलाई १५ मत अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
कुल १३३ मतमध्ये ११२ मत खसेको निर्वाचनमा गिरीले ६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ओलीले ४८ मत पाएका थिए।
निर्वाचनबाट उपाध्यक्षमा सञ्जीवनी साकोसका याम कुमार चुडाल, महिला उपाध्यक्षमा तारापुञ्ज साकोसकी सुशीला रिजाल, सचिवमा धरमपुर साकोसका बिनोद ढकाल निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा हिमालय लिम्बु कन्दङबा, महेश घिमिरे, मित्रलाल खनाल, उमाकान्त आचार्य र संगीता कोइराला निर्वाचित भएका छन्। लेखा समितिको संयोजकमा जगन भट्टराई तथा सदस्यहरूमा गायत्री मैनाली र डिल्लिराम ढकाल निर्वाचित भएका छन्।
निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीका अनुसार सोमबार नै शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरी निर्वाचित पदाधिकारीहरूलाई शुभकामना व्यक्त गरिएको थियो। झापा शाखाका अन्य पदहरूमा गत हप्ता नै एकल उम्मेदवारी परेपछि निर्वाचन आयोगले सर्वसम्मत रूपमा घोषणा गरेको थियो।
झापा जिल्ला सहकारी सङ्घ लिमिटेडपछि सहकारी अभियानमा उत्कृष्ट देखिएको संस्थाका रूपमा यस लिमिटेडलाई लिइँदै आएको उल्लेख गर्दै अध्यक्ष तुलाराम न्यौपानेले यसलाई सफल र उदाहरणीय संस्था भएको बताए।
अध्यक्षमा निर्वाचित भएपछि युवराज गिरीले सहकारी क्षेत्रका विद्यमान समस्याहरूलाई नजिकबाट अध्ययन गर्दै समाधानमुखी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “सहकारीका समस्या जहाँ देखिन्छन्, त्यहीँ म ठिङ्ग उभिन्छु। सदस्यहरूको विश्वास र मतको सम्मान गर्दै सहकारी अभियानलाई अझ बलियो बनाउने मेरो लक्ष्य हो।”
बाइट
गिरीले आफूलाई प्राप्त समर्थनलाई जिम्मेवारीका रूपमा लिँदै पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित कार्यक्रममार्फत सहकारी आन्दोलनलाई अगाडि बढाउने दाबीसमेत गरे।





