cURL Error: 0 बिर्तामोडमा ‘पौरखी जेन्जी सम्मान’बाट अभियन्ता तनुजा पाण्डेसहित १५ विशिष्ट व्यक्तित्व सम्मानित - पूर्व खबर

बिर्तामोडमा ‘पौरखी जेन्जी सम्मान’बाट अभियन्ता तनुजा पाण्डेसहित १५ विशिष्ट व्यक्तित्व सम्मानित

सरस्वती मिश्र,बिर्तामोड, झापा — समाज रूपान्तरणका लागि आ–आफ्नो क्षेत्रबाट निरन्तर संघर्ष गर्दै योगदान पुर्‍याउँदै आएका अभियन्ता, कलाकार, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको ‘पौरखी जेन्जी सम्मान’बाट बिर्तामोडमा १५ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन्। लोकतन्त्र पोस्टद्वारा आयोजित म्यागजिन विमोचन तथा सम्मान समारोहमा वन्यजन्तु अभियन्ता तनुजा पाण्डेसहित विभिन्न क्षेत्रका सक्रिय र प्रभावशाली व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
कार्यक्रम बिर्तामोड–४ स्थित होटल हेवनमा भव्य रूपमा सम्पन्न भएको थियो। आयोजकका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर क्रियाशील व्यक्तिहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई थप जिम्मेवारीबोध गराउने उद्देश्यले ‘पौरखी जेन्जी सम्मान’ प्रदान गरिएको हो।
‘पौरखी जेन्जी सम्मान’ समाजका लागि निस्वार्थ रूपमा श्रम, समय र सीप समर्पण गर्ने व्यक्तित्वहरूको पहिचान र सम्मान गर्ने अभियानका रूपमा अघि बढाइएको सम्मान हो। विशेषतः नयाँ पुस्ता (जेन्जी) लाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र सिर्जनात्मक कर्मतर्फ प्रेरित गर्ने लक्ष्यसहित यो सम्मान सुरु गरिएको आयोजकले जनाएको छ। समाज परिवर्तनको मूल आधार पौरखी व्यक्तिहरू नै हुन् भन्ने सन्देश प्रवाह गर्नु यस सम्मानको मूल मर्म रहेको बताइएको छ।
सम्मानित हुने व्यक्तित्वहरूमा वन्यजन्तु अभियन्ता तनुजा पाण्डे, चर्चित गायिका रचना रिमाल, चिकित्सक डा. चेवनराज कार्की, सामाजिक अभियन्ता कृपा चापागाईं, कृपा कार्की, पत्रकार सबिन बास्तोला, गायक अशोक दर्जी, सामाजिक अभियन्ता कृपा ढकाल, पत्रकार हरिकृष्ण भण्डारी, जयराम दाहाल, अनन्त तामाङ, अंकित सुवेदी, राहुल उत्सव तथा मनिषा राजवंशी रहेका छन्। उनीहरूलाई आ–आफ्नो क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
सम्मानित व्यक्तित्वहरूलाई अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष गिरीले समाज रूपान्तरणमा अभियन्ता, पत्रकार, कलाकार र स्रष्टाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले सकारात्मक काम गर्ने व्यक्तिहरूलाई राज्य र समाज दुवै तहबाट प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सम्मान कार्यक्रमले समाजमा आशा र प्रेरणा जगाउने बताउनुभयो।
कार्यक्रममा लोकतन्त्र पोस्टद्वारा प्रकाशन गरिएको म्यागजिनको औपचारिक विमोचनसमेत गरिएको थियो। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अम्बिका भण्डारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजीको विशेष अगुवाइ रहेको थियो।
म्यागजिन विमोचन कार्यक्रममा अभियन्ता महेन्द्र गिरीसहित नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सदस्य राजकुमार ओली, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोख्रेल, प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारी, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी तथा महासङ्घका पूर्व अध्यक्ष माधव विद्रोहीलगायतले संयुक्त रूपमा म्यागजिनको विमोचन गर्नुभएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले लोकतन्त्र पोस्टले पत्रकारिता, सामाजिक चेतना अभिवृद्धि तथा लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले आगामी दिनमा लोकतन्त्र पोस्टबाट अझ सशक्त, तथ्यपरक र जिम्मेवार सामग्री प्रस्तुत हुने विश्वास व्यक्त गरे।
सम्मानित व्यक्तित्वहरूले आफूहरूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवारीबोध गराएको प्रतिक्रिया व्यक्त गरेका थिए। उनीहरूले समाजका लागि अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोजकप्रति आभार प्रकट गरे।
‘पौरखी जेन्जी सम्मान’ प्रदान गर्न अभियन्ता महेन्द्र गिरीको नेतृत्वमा गठित समितिले विभिन्न मापदण्डका आधारमा छनोट प्रक्रिया सम्पन्न गरेको जनाइएको छ। आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजमा सकारात्मक योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *