बिर्तामोड, झापा। लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका बिर्तामोड–५ का भानुभक्त खरेललाई जिल्ला अदालत झापाले निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको छ।
अदालतको आदेशसँगै सोमबार खरेल कारागारबाट मुक्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। खरेलसँगै पक्राउ परेका उनका कामदार २५ वर्षीय विनोद घिमिरेलाई भने अदालतले दोषी ठहर गरेको छ।
न्यायाधीश लोकबहादुर हमालको इजलासबाट उक्त फैसला भएको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए।
गत साउन १ गते बिर्तामोड–५ मङ्गलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा खरेलले सञ्चालन गर्दै आएको भाडाको गोदाममा प्रहरीले छापा मारी ३५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको ट्रामाडोललगायत लागूऔषध बरामद गरेको थियो। उक्त घटनामा घिमिरे पक्राउ परेका थिए भने खरेल फरार भएका थिए।
गोदाममा छापा परेपछि फरार रहेका खरेल भदौ २८ गते घर आएका बेला स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
खरेल नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाका उपाध्यक्षसमेत रहेका औषधि व्यवसायी हुन्। उनको पक्राउपछि वाइसीएल नेपाललगायत विभिन्न पक्षले कडा कारबाहीको माग गरेकाछन ।





