बिर्तामोडमा प्रहरी कार्यालयमा आक्रमण: आक्रमणकारीको खोजी तीव्र

, बिर्तामोड — सामान्य विवादका क्रममा सुरु भएको घटनाले बिहीबार दिउँसो बिर्तामोडमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ। कुटपिटको घटनापछि आक्रोशित भीडले बिर्तामोडस्थित बिर्ताबजार प्रहरी चौकीमा आक्रमण गरी तोडफोड गरेको प्रहरीले जनाएको छ।
प्राप्त विवरणअनुसार बिहीबार दिउँसो करिब १:३० बजे बिर्तामोड–३ स्थित काजी पार्टी प्यालेसमा कार्यरत बाह्रदशी–४ निवासी सुजन राईमाथि कुटपिट भएको थियो। कुटपिटमा सोही पार्टी प्यालेसका सञ्चालक २९ वर्षीय आकाश खड्का, कर्मचारी ४० वर्षीय कोमल शिवाकोटी र २७ वर्षीय विपिन बुढाथोकी संलग्न रहेको आरोप छ। कुटपिटबाट घाइते भएका राईको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था सामान्य भए पनि थप निगरानीमा राखिएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले कुटपिटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि बिर्ताबजार प्रहरी चौकीमा राखेको थियो। सोही क्रममा राईको पक्षमा आएका करिब ३५ देखि ४० जनाको समूहले आक्रोशित हुँदै प्रहरी चौकी घेराउ गर्नुका साथै तोडफोड गरेको प्रहरीले जनाएको छ। भीडले चौकीको झ्यालका सिसा फुटाउनुका साथै केही भौतिक संरचनामा क्षति पुर्‍याएको बताइएको छ।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। केही समयका लागि तनावपूर्ण बनेको अवस्था अहिले सामान्य बन्दै गएको जनाइएको छ। तोडफोडमा संलग्न केही व्यक्तिहरूलाई पहिचान गरिएको र अन्य फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले कुटपिट घटनाको निष्पक्ष अनुसन्धान भइरहेको र प्रहरी चौकीमा आक्रमण तथा तोडफोडमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताए। “कानुन हातमा लिने जोसुकै भए पनि कारबाही हुन्छ। घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ,” उनले भने।
स्थानीयवासीका अनुसार सामान्य विवादका रूपमा सुरु भएको विषयले उग्र रूप लिएपछि स्थिति नियन्त्रणबाहिर जाने खतरा देखिएको थियो। तर, प्रहरीको सक्रियताले थप अप्रिय घटना हुनबाट जोगिएको बताइएको छ।
हाल प्रहरीले कुटपिट तथा तोडफोड दुवै घटनामा संलग्न व्यक्तिहरूविरुद्ध सार्वजनिक शान्ति भंग, हातपात तथा सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले सामान्य विवादलाई समयमै सम्हाल्न नसक्दा त्यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने प्रश्न पुनः उठाएको छ। स्थानीय प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array