राजकुमार ओली बिर्तामोड :३० फागुन (पूर्व खबर)
तक्षशिला प्रोग्रेसिभ इंग्लिस स्कूलले नवप्रवर्तन, शैक्षिक उपलब्धि र विश्वस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई उत्सवका रूपमा मनाउँदै ‘तक्षशिला महोत्सव ’ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या ८ सय नाघेको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउँदै महोत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले समग्र तथा भविष्यकेन्द्रित शिक्षालाई प्राथमिकता दिँदै पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यही उपलब्धिलाई संस्थागत रूपमा उत्सवका रूपमा मनाउन विविध शैक्षिक, प्रविधिमूलक तथा मनोरञ्जनात्मक गतिविधिसहित महोत्सव आयोजना गरिएको हो।
कार्यक्रममा तक्षशिला प्रोग्रेसिभ इंग्लिस स्कूलका अध्यक्ष दुर्गा प्रसाई प्रमुख अतिथिका रूपमा तथा बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.का मेडिकल डाइरेक्टर प्रा. डा. बलभद्र प्रसाद दास विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महोत्सवका अवसरमा विद्यालयले शैक्षिक यात्रासँग जोडिएका तीन महत्वपूर्ण उपलब्धिको औपचारिक उद्घाटन गरेको छ। त्यसअन्तर्गत इन्टरनेशनल ब्याकलोरियट (IB) क्यान्डिडेसी कार्यक्रमको शुभारम्भ गरिएको छ। IB PYP कोअर्डिनेटर डेनिस बी. रोजारियोको नेतृत्वमा सुरु गरिएको उक्त कार्यक्रमले अनुसन्धानमा आधारित तथा विश्वमान्य शिक्षाप्रणालीतर्फ विद्यालयको अग्रसरता झल्काएको विद्यालय प्रशासनले जनाएको छ।
त्यसैगरी ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ कार्यक्रमको पनि औपचारिक सुरुवात गरिएको छ। श्री माइकल सामातारायको मार्गदर्शनमा सञ्चालन हुने यो अन्तर्राष्ट्रिय युवा विकास कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहनशीलता तथा जीवनोपयोगी सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महोत्सवमा इन्टरनेशनल एजुकेशन ओलम्पियाड (IEO) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने क्षेत्रीय तथा कक्षा स्तरका विद्यार्थीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो। विशिष्ट अतिथिहरूद्वारा सम्मानित विद्यार्थीहरूलाई विद्यालयले आगामी दिनमा थप उत्कृष्ट उपलब्धि हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको अर्को आकर्षण प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित प्रस्तुति रह्यो। महोत्सवका क्रममा रोबोटमार्फत अतिथिहरूलाई खादा अर्पण गरिएको थियो भने ड्रोनमार्फत पुष्पवृष्टि गरिएको थियो। त्यसैगरी रोबोटले अतिथिहरूलाई जुस सेवा प्रदान गरेको दृश्यले उपस्थित दर्शकको विशेष ध्यान खिचेको थियो। यी सबै गतिविधि विद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स (AI) टोली तथा विद्यार्थीहरूको सहकार्यमा सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा ‘वर्ल्ड स्कूल समिट (WSS) अवार्ड’ पनि औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। उक्त अवार्डले समग्र शिक्षाको क्षेत्रमा विद्यालयले हासिल गरेको उत्कृष्टतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बताइएको छ। विद्यालयका अध्यक्ष दुर्गा प्रसाईले कार्यक्रममा क्षेत्रीय उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै सबै विद्यार्थीलाई शैक्षिक उत्कृष्टताको दिशामा अघि बढ्न प्रेरित गर्नुभयो।
महोत्सवअन्तर्गत आयोजित विज्ञान प्रदर्शनी पनि दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो। विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले इन्फिनिटी मिरर, रेन डिटेक्सन सिस्टमलगायत विभिन्न व्यावहारिक परियोजनाहरू प्रस्तुत गरेका थिए। ती परियोजनाले विद्यार्थीहरूको जिज्ञासा, सिर्जनशीलता र वैज्ञानिक सोचलाई उजागर गरेको सहभागीहरूले बताएका छन्।
त्यसैगरी ‘३डीआई टेक्नोलोजी प्रदर्शन’ अन्तर्गत थ्रीडी प्रिन्टिङ, ३६० डिग्री क्यामेरा, ड्रोन लगायतका अत्याधुनिक प्रविधिको प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनले प्रविधिमैत्री शिक्षा प्रणालीमार्फत भविष्यका लागि सक्षम विद्यार्थी तयार पार्ने विद्यालयको दीर्घकालीन दृष्टिकोणलाई झल्काएको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालयका एकेडेमिक डाइरेक्टर डा. विक्टर इग्नाटियस जोसेफको मार्गदर्शनमा संस्थाले सफल नेतृत्वको तीन वर्ष पूरा गर्दै निरन्तर प्रगतितर्फ अघि बढिरहेको बताइएको छ। महोत्सव विद्यालयले हासिल गरेका उपलब्धिको उत्सव मात्र नभई आत्मविश्वासी, नवप्रवर्तनशील तथा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने दीर्घकालीन लक्ष्यको प्रतिबिम्बका रूपमा रहेको आयोजकले जनाएको छ।
यसअघि महोत्सवको अघिल्लो दिन विद्यालयको वार्षिक खेलकुद कार्यक्रम पनि उत्साहपूर्ण रूपमा सम्पन्न गरिएको थियो। खेलकुद कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
वार्षिक खेलकुद कार्यक्रम र तक्षशिला महोत्सव ३.० ले विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाबीच उत्साह र ऊर्जा थप्दै विद्यालयको समग्र विकास तथा उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको विद्यालयले जनाएको छ।



