राजकुमार ओली,काँकरभिट्टा (झापा), ३० फागुन :(पूर्व खबर)
झापाको मेचीनगर–६ स्थित नकलबन्दा क्षेत्र हुँदै भारततर्फ गाईगोरु तस्करी भइरहेको भन्दै स्थानीयस्तरमा जनगुनासो बढेको छ। खुला सीमा नाकाको फाइदा उठाउँदै तस्कर समूहले पशुचौपाया तथा अन्य सामान भारततर्फ लैजाने र उताबाट विभिन्न उपभोग्य वस्तु भित्र्याउने गतिविधि बढेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार नकलबन्दा चोक नजिकै तस्करहरूले गाई, गोरु, राँगा र भैँसी राख्न अस्थायी टहरा बनाएका छन्। बुद्वशान्ति, खुदुनाबारी, दमक, इलाम लगायतका स्थानबाट साँझतिर ल्याइएका राँगा–भैँसी सो टहरामा राखेर राति मेची खोलाको बाटो हुँदै भारततर्फ लैजाने गरिएको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार करिब साँझ ७ बजेतिर ल्याइएका पशुहरू राति ११ बजेदेखि १ बजेसम्मको बीचमा मेची खोलाको बाटो प्रयोग गरी भारततर्फ कटाइने गरेको बताइन्छ। हप्तामा करिब तीन दिनजति यसरी पशुचौपाया तस्करी हुने गरेको र एकपटकमा २०० भन्दा बढीको संख्यामा राँगा–भैँसी लैजाने गरिएको स्थानीयको दाबी छ।
नकलबन्दा क्षेत्रमा नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरी बलको पोस्ट रहे पनि तस्करी गतिविधि रोक्न प्रभावकारी कदम चालिएको नदेखिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रमा हुने तस्करी गतिविधिप्रति सुरक्षा निकायको निगरानी कमजोर भएको आरोप पनि लाग्दै आएको छ।
नकलबन्दा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक अशोक चौहानले खुला सीमाका कारण कतिपय अवस्थामा तस्करहरूले सुरक्षाकर्मीको नजर छलेर सामान ओसारपसार गर्ने गरेको स्वीकार गर्नुभयो। उहाँले तस्करी नियन्त्रणका लागि प्रहरीले नियमित गस्ती तथा निगरानी बढाएको बताउनुभयो।
त्यस्तै सशस्त्र प्रहरी बलको स्थानीय पोस्टका सई सूर्य श्रेष्ठले पनि खुला सीमाका कारण चुनौती रहेको उल्लेख गर्दै तस्करी रोक्न सुरक्षाकर्मीले सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो। उहाँले सीमाक्षेत्रमा निगरानी बढाइएको र शंकास्पद गतिविधिमाथि निगरानी जारी रहेको बताउनुभयो।
स्थानीयका अनुसार यस क्षेत्रबाट गाईगोरु, सुपारी, चाइनिज लसुनलगायत सामान भारततर्फ लैजाने गरिएको छ भने उताबाट कपडा, हार्डवेयर, खाद्यान्न, सिमेन्ट, मोटरपार्ट्स, दाल तथा मटरजस्ता सामान भन्सार छली नेपाल भित्रिने गरेको बताइन्छ।
झापाको भारतसँग करिब १४८ किलोमिटर खुला सीमा रहेकाले विभिन्न स्थानबाट यस्ता गतिविधि हुने गरेको सुरक्षाकर्मीहरू बताउँछन्। सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि विभिन्न निकायले संयुक्त रूपमा निगरानी र गस्ती बढाउँदै आएको जनाइएको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी विकास थापा मगरले सीमाक्षेत्रमा तस्करीसम्बन्धी जनगुनासो आएको बताउँदै त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँले अवैध गतिविधि नियन्त्रणका लागि निगरानी कडा पारिएको र दोषी भेटिए कारबाही गरिने बताउनुभयो।
स्थानीय बासिन्दाले भने सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले थप कडाइ गर्नुपर्ने माग गरेका छन्। उनीहरूले पशुचौपाया तथा अन्य सामानको तस्करीले स्थानीय अर्थतन्त्र र सुरक्षामा असर पार्न सक्ने भन्दै प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताएका छन्।



