बिर्तामोड, १ चैत (पूर्व खबर)
जिल्ला प्रहरी कार्यालय झापा र बी एण्ड सी अस्पताल को सहकार्यमा पाठेघरको क्यान्सर सम्बन्धी परीक्षण (प्याप स्मियर टेस्ट) कार्यक्रम सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी र हिरासत कक्षमा रहेका महिला थुनुवाहरूलाई लक्षित गरी उक्त परीक्षण गरिएको हो। कार्यक्रममा पाठेघरको क्यान्सर पहिचानका लागि प्याप स्मियर परीक्षण गर्नुका साथै स्त्रीरोग विशेषज्ञ डा. रागिनी जस्वाल ले सम्बन्धित स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो।
स्वास्थ्य जाँचसँगै पाठेघरको क्यान्सरको जोखिम, प्रारम्भिक लक्षण, नियमित परीक्षणको आवश्यकता तथा महिलाले अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी गराइएको थियो।
बिएनसी मेडिकल कलेज का सूचना अधिकारी प्रमिस गिरी का अनुसार महिला स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
उहाँका अनुसार नियमित स्वास्थ्य परीक्षणमार्फत पाठेघरको क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गर्न सकिने भएकाले यस्ता कार्यक्रमले महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
महिला प्रहरी कर्मचारी र हिरासतमा रहेका महिलाको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन तथा आवश्यक परामर्श प्रदान गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो।



