राजकुमार ओली बिर्तामोड, १ चैत (पूर्व खबर अनलाइन)
झापाको बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्र लामो समयदेखि अव्यवस्थित अवस्थामा रहँदै आएको भए पनि पछिल्लो राजनीतिक परिवर्तनसँगै स्थानीय व्यवसायी तथा नागरिकमा सुधारको आशा पलाएको छ। नयाँ सरकार गठन भएसँगै देशभर ऊर्जा र उत्साह देखिएको भन्दै यस क्षेत्रका व्यवसायीले अब बसपार्क क्षेत्रको समस्या समाधान हुने अपेक्षा गरेका छन्।
स्थानीय व्यवसायी हरि भण्डारीका अनुसार बिर्तामोडको नयाँ बसपार्क क्षेत्र लामो समयदेखि धुलो, सडकको बिग्रिएको अवस्था, ढल निकासको समस्या तथा संरचनागत व्यवस्थापन अभावका कारण अस्तव्यस्त बनेको छ। वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलो उड्ने समस्याका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ हुने गरेको उनीहरूको गुनासो छ।
नयाँ बसपार्क क्षेत्रका होटल तथा व्यवसाय सञ्चालन गर्दै आएका ले नयाँ सरकार बनेपछि यहाँका व्यवसायीमा उत्साह थपिएको बताउनुभयो। “देशभर नयाँ सरकार आएपछि ऊर्जा र उमङ्ग देखिएको छ,” उहाँले भन्नुभयो, “झापा–२ का जनताले आफ्नो प्रतिनिधिलाई जिताएर पठाएपछि यहाँका व्यवसायीले पनि अब विकासका काम अघि बढ्ने आशा गरेका छन्।”
बसपार्क क्षेत्रमा लामो समयदेखि पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा व्यवसायीहरू विभिन्न समस्यासँग जुध्दै आएका छन्। सडक बिग्रिएको, धुलो अत्यधिक उड्ने, ढल निकास व्यवस्थित नहुँदा दुर्गन्ध फैलिने जस्ता समस्याले दैनिक व्यापार प्रभावित हुँदै आएको भण्डारीले बताउनुभयो।
स्थानीय व्यवसायीले बसपार्क क्षेत्रसँग सम्बन्धित ५१ बिगाहा जग्गाको विषय पनि छिट्टै टुंगो लाग्ने अपेक्षा गरेका छन्। सर्वोच्च अदालतले रोक्का राखेको उक्त जग्गासम्बन्धी मुद्दाका कारण विकास तथा व्यवस्थापनका काम रोकिँदै आएको भन्दै अब समाधान हुने विश्वास व्यक्त गरिएको छ। अर्का व्यवसायी प्रविण
लिम्बुका अनुसार बसपार्क क्षेत्र व्यवस्थित भए यहाँ सञ्चालनमा रहेका होटल, पसल तथा अन्य व्यवसायलाई ठूलो राहत पुग्नेछ। “हामीले यहाँ लगानी गरेर व्यवसाय गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “तर पूर्वाधार कमजोर हुँदा ग्राहकलाई समेत समस्या हुन्छ। अब नयाँ सरकार आएपछि काम अघि बढ्नेमा आशावादी छौँ।”बाइट
स्थानीयवासी हरि भण्डारीका अनुसार बसपार्क क्षेत्रमा सडकको अवस्था अत्यन्त खराब छ। सडकभरि खाल्टा परेका कारण सवारी साधन चलाउन कठिन हुने गरेको र हावाहुरी चल्दा अत्यधिक धुलो उडेर वातावरण नै असहज हुने गरेको उनीहरूको भनाइ छ।
बसपार्क आसपासका बासिन्दाले दैनिक जीवनमा समेत समस्या झेल्नुपरेको स्थानीय सावित्रा बन्जराले बताएकिछिन। घर तथा पसलमा धुलो पसेर सरसफाइ गर्न कठिन हुने, यात्रु तथा व्यवसायीलाई असहज हुने र स्वास्थ्यमा समेत असर पर्ने गरेको का व्यवसायी अनिता खड्का बताउँछिन ।
स्थानीय नागरिकहरूले बसपार्क क्षेत्रको ढल निकास व्यवस्थापन नहुँदा वर्षाको समयमा पानी जम्ने समस्या हुने गरेको बताएका छन्। पानी जम्दा सडक झन् बिग्रिने र हिँडडुल गर्नसमेत कठिन हुने अवस्था रहेको उनीहरूको भनाइ छ।
यस क्षेत्रका नागरिकले प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व उपसभामुख इन्दिरा राना मगरलाई आफूहरूले मत दिएर विजयी बनाएको उल्लेख गर्दै अब यस क्षेत्रको विकासमा ध्यान दिने अपेक्षा गरेका छन्। झापाबाटै प्रधानमन्त्री बन्ने चर्चा चलिरहेका झापा ५ का विजय सांसद बालेन्द्र शाहको विकास निर्माणको काठमाडौँ महानगरको मेयर हुँदाको समयमा गरेको विकास निर्माणको भूमिका लाई नजिकबाट नियालेको रअझ झापालीहरूको मनछुने काम गर्नको निम्ति आग्रह गरिएको र बसपार्कसँगै झापा जिल्लाको विकासले गति लिने आशा पनि टेकबहादुर गिरी बसपार्कका स्थायी बासिन्दा सुजन राज शिवाकोटीले व्यक्त गरेका छन्।
बिर्तामोड पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रमध्ये एक हो। यहाँ दैनिक हजारौँ यात्रु आवतजावत गर्ने भएकाले बसपार्क क्षेत्र व्यवस्थित हुनु अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ छ। तर व्यवस्थापनको अभावका कारण बसपार्क क्षेत्र लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहँदै आएको छ। यो बसपार्क र आसपासको भूगोलमा मात्रै पनि ठुला साना गरी ११ सय होटल तथा लजहरु सन्चालनमा रहेको होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ बताउनुहुन्छ।
व्यवसायीहरूले बसपार्क क्षेत्रको सडक मर्मत, धुलो नियन्त्रण, ढल निकास व्यवस्थापन तथा समग्र पूर्वाधार सुधारका काम तत्काल सुरु गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले बसपार्क क्षेत्र व्यवस्थित भए बिर्तामोडको व्यापारिक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
स्थानीयवासी र व्यवसायीहरूले नयाँ सरकार तथा जनप्रतिनिधिहरूले यस क्षेत्रको समस्या समाधानतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले बसपार्क क्षेत्रको दीर्घकालीन व्यवस्थापन योजना बनाएर चरणबद्ध रूपमा पूर्वाधार सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
स्थानीयवासीका अनुसार नयाँ सरकार गठनसँगै देशभर विकासप्रति सकारात्मक अपेक्षा बढेको छ। बिर्तामोडको नयाँ बसपार्क क्षेत्रका नागरिक तथा व्यवसायी पनि यही अपेक्षाका साथ अब यहाँको अव्यवस्थित अवस्था अन्त्य भई व्यवस्थित र सुविधासम्पन्न बसपार्क निर्माण हुने आशामा रहेका छन्।



