ग्यास र पेट्रोलियम पदार्थको कालाबजारी गर्ने उपर कडा कारबाही गर्छौं: सिडिओ गेलाल

राजकुमार ओली,।बिर्तामोड, १ चैत । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बजारमा देखिएको ग्यास र पेट्रोलियम पदार्थको अभाव, कालाबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिविरुद्ध कडा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।
“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नाराका साथ आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम गेलालले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, वस्तु लुकाएर कालाबजारी गर्ने र उपभोक्तालाई ठग्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो।
उहाँले पछिल्लो समय ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएको भन्दै त्यसको आडमा कालाबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भए तत्काल कारबाही गरिने बताउनुभयो। “उपभोक्तालाई अनावश्यक दुःख दिने, वस्तु लुकाएर महँगोमा बेच्ने र बजारमा भ्रम सिर्जना गर्ने गतिविधि सह्य हुँदैन,” उहाँले भन्नुभयो, “त्यस्ता कार्यमा संलग्न पाइए कडा कानुनी कारबाही हुन्छ।”
सिडिओ गेलालले खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुमा पनि अभाव हुन सक्ने आशंका देखिएकाले सम्बन्धित निकायले बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले उपभोक्ताको अधिकार संरक्षण गर्न प्रशासन प्रतिबद्ध रहेको बताउँदै व्यवसायीलाई पनि जिम्मेवार बन्न आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालले स्वस्थ बजार प्रणाली कायम गर्न प्रशासन, व्यवसायी र उपभोक्ता तीनै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै उपभोक्ताले पनि सचेत र जिम्मेवार भएर बजार व्यवहार गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका सभापति तथा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका प्रमुख पुष्पलता उप्रेतीले उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले उपभोक्ता सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उपभोक्ता अधिकार जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्ण भण्डारी मार्सेलीले बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति नियन्त्रण गर्न कडा निगरानी आवश्यक रहेको बताउनुभयो। उहाँले उपभोक्ताले आफ्नो अधिकारबारे सचेत हुनुपर्ने र गलत व्यवहार देखिए सम्बन्धित निकायमा उजुरी गर्नुपर्नेमा जोड दिनुभयो।
अभियानका केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरेले उपभोक्ता हित संरक्षणका लागि राज्यका निकायहरूले प्रभावकारी अनुगमन गर्नुपर्ने बताउँदै बजारमा पारदर्शिता कायम हुनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी अभियानका झापा अध्यक्ष शालिकराम भट्टराई, केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने तथा मेचीनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष निर्मला चौहान भण्डारीलगायतले उपभोक्ता अधिकार संरक्षण, बजार अनुशासन कायम र गुणस्तरीय वस्तु तथा सेवा प्रवाहका विषयमा शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा व्यवसायी, उपभोक्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले बजारमा देखिएको ग्यास र पेट्रोलियम पदार्थको अभाव, कालाबजारी तथा सम्भावित खाद्यवस्तु अभावका विषयमा चासो व्यक्त गर्दै प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्न प्रशासनलाई आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *