राजकुमार ओली, २ चैत(पूर्व खबर) : विदेश पठाइदिने बहानामा करोडौँ रुपैयाँ ठगी भएको आरोपसँग जोडिएको विवादका क्रममा नियन्त्रणमा लिइएका बिर्तामोडका युवा व्यवसायी कृष्ण अग्रवाल रिहा भएका छन्। प्रहरीले अनुसन्धानका क्रममा उनीमाथि ठगीमा संलग्नता नदेखिएपछि आइतबार साँझ रिहा गरिएको जनाएको छ।
बिर्तामोड नगरपालिका–५ का २५ वर्षीय अग्रवाललाई शनिबार कनकाई नगरपालिका–३ सुरुङ्गाका निर्मल श्रेष्ठ पक्षका व्यक्तिहरूले समातेर प्रहरीको जिम्मा लगाएका थिए। श्रेष्ठ पक्षका २५–३० जनाले अग्रवाल ठगी प्रकरणमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको बताइएको छ।
प्रहरीका अनुसार विदेश पठाइदिने बहानामा ७० जनाबाट तीन करोड रुपैयाँभन्दा बढी रकम उठाइएको भनिएको घटनाबारे अनुसन्धान गर्दा अग्रवालको प्रत्यक्ष संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको हो।
तर अग्रवाल पक्षले भने आफूलाई बिना कारण नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको दाबी गरेको छ। उनी अदालतमा विचाराधीन एक मुद्दामा साक्षी बसेकै कारण लक्षित बनाइएको आरोप लगाइएको छ। इलाका प्रहरी कार्यालयभित्र समेत अग्रवाल पीडितहरूको आक्रोशका बीच सुरक्षित नदेखिएको अवस्थामा प्रहरीले सुरक्षा दिएको देखिएको हो ।
झापा जिल्ला अदालतमा दर्ता भएको ‘झुट्टा प्रमाण तथा परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा अग्रवाल साक्षीका रूपमा रहेका छन्। उक्त मुद्दा बुद्धशान्ति गाउँपालिका–२ का प्रज्ज्वल कार्कीले कनकाई नगरपालिका–२ सुरुङ्गाका निर्मल श्रेष्ठविरुद्ध दायर गरेका थिए।
अग्रवाल पक्षका अनुसार सोही मुद्दामा आफू साक्षी बसेपछि श्रेष्ठ पक्षले दबाब दिन खोजेको र त्यसकै क्रममा उनलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएको हो। अग्रवालले आफू ठगी प्रकरणसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। तर अग्रवालको मोबाइलमा देखिएका मेसेज र भेटेका प्रमाणका आधारमा कार्कीसँग बाक्लो हिमसिम भएको देखिएको र आर्थिक कारोबार समेतमा मुछिएको पीडित पक्षको दाबी छ।
उता श्रेष्ठ पक्षले भने विदेश पठाउने नाममा भएको आर्थिक कारोबारमा अग्रवालको समेत भूमिका रहेको आशंका भएपछि प्रहरीले अनुसन्धान गर्न सक्ने गरी बुझाइएको दाबी गरेको छ। उनीहरूले ठगी प्रकरणमा संलग्न व्यक्तिहरूको भूमिकाबारे स्पष्टता हुनुपर्ने बताएका छन्।
यस विवादको जडमा विदेश पठाइदिने नाममा भएको ठगी प्रकरण रहेको बताइएको छ। बिर्तामोड घर भई हाल दुबईमा बस्दै आएका प्रकाश संग्रौला र सुरुङ्गाका निर्मल श्रेष्ठले युवाहरूलाई युरोपेली मुलुक क्रोएशिया पठाइदिने आश्वासन दिँदै ठूलो रकम उठाएको हरूको आरोप छ।
पीडितहरूका अनुसार संग्रौलाले विभिन्न व्यक्तिका बैंक खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि नगद निकालेर श्रेष्ठमार्फत बुझ्ने व्यवस्था मिलाइएको थियो। रकम संकलन भएपछि संग्रौला सम्पर्कविहीन भएको दाबी पीडितहरूले गरेका छन्।
यसअघि पीडितहरूले श्रेष्ठविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएका थिए। सोही आधारमा उनीविरुद्ध ठगी मुद्दा चलेको भए पनि पछि मिलापत्रका आधारमा उनी छुटेका थिए।
प्रहरीले भने हाल सार्वजनिक भएको घटनाबारे थप तथ्य संकलन भइरहेको इलाका प्रहरी कार्यालय अनारमुनिका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताएका छन्। अनुसन्धानका क्रममा कसैको पनि संलग्नता पुष्टि भए कानुनअनुसार कारबाही गरिने प्रहरी स्रोतले जनाएको छ।
विदेश पठाइदिने नाममा हुने ठगीका घटनाहरू बढ्दै गइरहेका बेला झापामा देखिएको यो प्रकरणले पुनः यस्तो गिरोहको गतिविधिबारे प्रश्न उठाएको छ। साथै, घटनासँग जोडिएका व्यक्तिहरूबीचको विवाद अदालतसम्म पुगेपछि यसले थप जटिल रूप लिएको देखिन्छ।



