इनिशा हत्या प्रकरणमा कारबाहीको माग गर्दै मेची बोर्डरमा प्रदर्शन

मेचीनगर (झापा), २ चैत । इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।
प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा आज बिहान काँकरभिट्टामा शान्तिपूर्ण खबरदारी कोणसभा तथा मौन र्याली आयोजना गरिएको हो ।
मेचीनगर क्षेत्रका विभिन्न सामाजिक संघ–संस्था, क्याम्पस र विद्यालयका विद्यार्थी लगायत स्थानीयवासीको सहभागितामा आयोजित र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले “इनिशा विकका हत्यारालाई कारबाही गर”, “बालबालिकामाथि हुने हिंसा अन्त्य गर”, “पितृसत्ता मुर्दावाद” लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
र्यालीपछि इलाका प्रहरी कार्यालय नजिकै सडकमा आयोजित कोणसभामा वक्ताहरूले घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका थिए । सामाजिक अभियन्ता राधा प्रधान कार्की, पूजा सापकोटा, शिक्षक शुभद्रा भट्टराई अर्याल, पत्रकार अम्बिका भण्डारी र युवा नेता विनय कार्कीले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन समाज र सरोकारवाला निकाय सबै सचेत हुनुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न खबरदारी सभाको सञ्चालन सचिव करूणा पोखरेलले गरेकी थिइन् ।
यसअघि फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विक जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
वीरेन्द्रनगर–६ स्थित एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्राप भएको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नताको आशंकामा प्रहरीले एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ भने थप तीन जनालाई पनि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान जारी राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *