काँकरभिट्टा, ३ चैत ।
झापाको सीमा नाका क्षेत्रमा अवैध आयात–निर्यातसम्बन्धी समाचार सार्वजनिक भएपछि सुरक्षाकर्मीले निगरानी कडा बनाएका छन्। मेची भन्सार कार्यालय को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा क्षेत्रका विभिन्न बिन्दुमा गस्ती तथा अनुगमन तीव्र पारेको हो।
केही दिनअघि काँकरभिट्टा नजिकको नकलबन्दा क्षेत्रबाट भन्सार छलेर गाई–गोरु, राँगा–भैंसी, सुपारी तथा चिनियाँ लसुन भारततर्फ लैजाने र उताबाट मोटरपार्ट्स, कपडा, हार्डवेयरलगायत सामग्री नेपालतर्फ भित्र्याइने गतिविधि भइरहेको विषयमा समाचार तथा भिडियो सार्वजनिक भएको थियो। त्यसपछि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी बढाउँदै अवैध कारोबार नियन्त्रणका लागि सक्रियता देखाएका हुन्।
प्रहरीका अनुसार पछिल्ला दिनमा मेची पुल आसपासका क्षेत्र, सतिघट्टा, बर्मेली टोल, नकलबन्दा र तिरिङसम्मका क्षेत्रहरूमा विशेष निगरानी राखिएको छ। विशेषगरी मेची खोला आसपासबाट हुने अवैध ओसारपसार रोक्न दिउँसो र राति दुबै समयमा गस्ती बढाइएको जनाइएको छ।
संयुक्त टोलीले भन्सार छलेर ल्याइएका केही सामग्री बरामदसमेत गरेको जनाएको छ। सुरक्षाकर्मीका अनुसार अवैध सामान फेला परेमा तत्काल बरामद गरी संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने गरी निगरानी तीव्र बनाइएको छ।
सीमा क्षेत्रमा सुरक्षात्मक व्यवस्था थप सुदृढ बनाउन स्थानीय स्तरमा समेत छलफल थालिएको छ। यस क्रममा नेपाल प्रहरी काँकरभिट्टाका प्रमुख निमेश चापागाईं तथा सशस्त्र प्रहरीका प्रमुख विकास थापा मगर ले तिरिङ, बाहुनडाँगी, नकलबन्दा र सतिघट्टा क्षेत्रका चौकी तथा बीओपीका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयसँग भेटघाट तथा छलफल गरिरहेका छन्। सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणमा स्थानीय समुदायको सहयोग आवश्यक हुने भएकाले सचेतना र समन्वयलाई जोड दिइएको उनीहरूको भनाइ छ।
यता शिवलाल न्यौपाने, प्रमुख मेची भन्सार कार्यालय, ले भन्सार छलेर नेपाल भित्र्याइएका वा भारततर्फ लैजान लागिएका सामान भेटिए तत्काल कारबाही गरिने बताएका छन्। उनका अनुसार भन्सार कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली नियमित गस्तीमा खटिएको छ।
उनले मेचीनगर क्षेत्रमा विदेशी सुपारी, चिनियाँ लसुनलगायत सामग्री भारततर्फ लैजान उद्देश्यले गोदाम राखिएको आशंका पनि व्यक्त गरे। शंका लागेका स्थानको पहिचान गरी आवश्यक परे छापा मार्ने तयारी रहेको उनले बताए। यस्तो अवस्थामा राजस्व अनुसन्धान कार्यालय, इटहरी सँग समन्वय गरेर सुरक्षाकर्मी र भन्सारका प्रतिनिधिले संयुक्त रूपमा कारबाही अघि बढाउने उनले स्पष्ट पारे।
सीमा क्षेत्रमा पछिल्लो समय तस्करी तथा भन्सार छलीका गतिविधि बढ्दै गएको भन्दै सरोकारवाला निकायले निगरानी प्रणाली अझ कडा बनाउने बताएका छन्। स्थानीय तह, सुरक्षाकर्मी र भन्सार प्रशासनबीचको समन्वयलाई प्रभावकारी बनाउँदै अवैध कारोबार नियन्त्रण गर्ने लक्ष्य लिइएको जनाइएको छ।
सुरक्षाकर्मीका अनुसार सीमा क्षेत्रमा संयुक्त गस्ती, आकस्मिक जाँच र स्थानीयस्तरको सूचनाको आधारमा अवैध गतिविधि नियन्त्रणका प्रयासलाई आगामी दिनमा अझ तीव्र बनाइनेछ।



