गाई गोरु तस्करी नियन्त्रणमा सक्रिय बन्दै प्रहरी

काँकरभिट्टा, ३ चैत । सिमा क्षेत्रमा प्रहरीको सक्रियता बढेको छ। सोही क्रममा मेची खोलाको बगरबाट भारततर्फ लैजाँदै गरिएका १२ वटा गाई–बाँछा नियन्त्रणमा लिइएको छ।
नकलबन्दा प्रहरी चौकी र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी)को संयुक्त टोलीले मंगलबार बिहान करिब ६ बजे काली मन्दिर नजिकको दशगजा क्षेत्रबाट २ वटा गाई र १० वटा बाँछा नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निमेष चापागाईंका अनुसार गाईगोरु तस्करी रोक्न संयुक्त गस्तीलाई कडाइ गरिएको छ। नियन्त्रणमा लिइएका गाई–बाँछालाई आवश्यक प्रक्रिया पूरा गरी मेची भन्सार कार्यालय बुझाइने उनले बताए।
सशस्त्र सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी विकास थापा मगरले पनि सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न नियमित संयुक्त गस्ती सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार सोही घटनामा भारततर्फ पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पाँच वटा गाई नियन्त्रणमा लिएको छ।
खुला सीमा र नदीको बगर प्रयोग गरेर गाईगोरु भारततर्फ लैजाने प्रयास भइरहँदा सुरक्षा निकायले निगरानी र गस्ती बढाएको बताएका छन्। पछिल्लो समय तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ गर्दै अभियानात्मक रूपमा काम गरिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *