बिर्तामोड, २० चैत (पुर्व खबर): ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा परिवेश मिडियाका प्रधान सम्पादक पुष्प खड्का आधा दर्जन पुरस्कृत हुनुभएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले उहाँहरुलाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा पुरस्कृत गरेको हो ।
बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा खड्कालाई नगद रु १० हजार ५५५ सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट तथा संघका अध्यक्ष प्रेमकुमार सापकोटाले नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
उक्त अवसरमा विभिन्न सहकारी संस्था तथा व्यक्तिहरूलाई पनि पुरस्कृत गरिएको थियो । उत्कृष्ट बचत तथा ऋण सहकारीतर्फ दमकस्थित डाँफे साकोस, उत्कृष्ट कृषि सहकारीतर्फ कमल गाउँपालिकास्थित लखनपुर साना किसान, बहुउद्देश्यीयतर्फ गौरादह नगरपालिकास्थित जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था, उत्कृष्ट बचत कारोबारतर्फ बिर्तामोडस्थित गौरवशाली साकोस तथा उत्कृष्ट कर्जा कारोबारतर्फ अर्जुनधारास्थित ऋद्धिसिद्धि महिला कृषि सहकारी संस्था नगद रु १० हजार ५५५ सहित सम्मानित भएका छन् ।
त्यसैगरी उत्कृष्ट महिला व्यवस्थापकतर्फ हल्दिबारीस्थित एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी उमा राई र मेचीनगरस्थित मेची मासु उत्पादक सहकारी संस्थाकी अनिता गुरागाईं तथा पुरुषतर्फ मेचीनगरस्थित तारापुञ्ज साकोसका मोहन अधिकारी र भद्रपुरस्थित सूर्योदय साकोसका माउण्टेन गुरुङलाई नगद रु ५ हजार ५५५ सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा उत्प्रेरक सौनक भट्टले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि विष्टले विगतका सरकारहरूले सहकारी क्षेत्रलाई पर्याप्त प्राथमिकता दिन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले ल्याउने नीति कस्तो हुन्छ भन्ने प्रतीक्षा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ, राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष युवराज गिरीलगायतको उपस्थिति रहेको थियो ।
संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।



