रविन ओली बिर्तामोड — ओली वंश समन्वय केन्द्रीय समितिको केन्द्रीय अधिवेशन तथा जिल्ला शाखाको अधिवेशन एकैसाथ सम्पन्न भएको छ। बिर्तामोडस्थित ओली भवनमा आयोजित उक्त कार्यक्रममा ८३ वर्षीया जेष्ठ आमा पुण्यमाया ओलीसहित जेष्ठ नागरिकहरू तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै अधिवेशन सम्पन्न गरिएको हो।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै वंशीय एकता, सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ। कार्यक्रम झापा शाखाका अध्यक्ष भवानी ओलीको सभापतित्वमा तथा जेष्ठ कुलपिता गङ्गा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनबाट मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। निर्वाचन समितिका संयोजक रोमनाथ ओलीले सर्वसम्मत रूपमा समिति चयन भएको घोषणा गर्नुभएको हो। नवगठित समितिमा वरिष्ठ उपाध्यक्षमा इटहरीका जगदीश ओली, उपाध्यक्षहरूमा काठमाडौंका केशवमणि ओली र सल्यानका निमबहादुर ओली चयन हुनुभएको छ।
त्यसैगरी महासचिवमा बिर्तामोडका मोहनप्रसाद ओली, सचिवहरूमा दाङका जागेश्वर ओली र काठमाडौंका जीवन ओली चयन हुनुभएको छ। कोषाध्यक्षमा कन्काईका यज्ञराज ओली चयन हुँदा सदस्यहरूमा दोलखाका हरि ओली, काठमाडौंका तुलसीराम ओली र घनश्याम ओली, मोरङका होमप्रसाद ओली, सुर्खेतका लोकबहादुर ओली, सुनसरीका ओमप्रसाद ओली, झापाको मेचीनगरका युद्धराज ओली, कन्काईका अनिरुद्र ओली, दमककी खेमकुमारी ओली र बिर्तामोडकी सुनिता ओली लगायत रहनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक रोमनाथ ओलीले प्रमाणपत्र प्रदान गर्नुका साथै अविर लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले ओली वंशको इतिहास, परम्परा र एकताको महत्वबारे चर्चा गर्दै आगामी दिनमा संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा झापा शाखाका सचिव राजेन्द्र ओलीले सञ्चालन गर्नुभएको थियो भने लेखा समितिका संयोजक उपेन्द्र ओलीले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले ओली भवनको आय–व्यय, संस्थाको समग्र आर्थिक अवस्था तथा कन्काई नगरपालिकामा निर्माणाधीन रहेको ओली सामुदायिक भवन र कुल मन्दिरको प्रगतिबारे जानकारी गराउनुभयो। अधिवेशनमा क्यान्सर रोग पीडित छविलाल ओलीलाई आर्थिक सहयोग समेत गरेको थियो।
उक्त अधिवेशनले संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिमा सक्रियता बढाउने लक्ष्य लिएको जनाएको छ। साथै, वंशीय एकतालाई मजबुत बनाउँदै नयाँ पुस्तालाई आफ्नो पहिचान र संस्कृतिसँग जोड्ने प्रयासलाई प्राथमिकता दिने निर्णय गरिएको छ।
कार्यक्रमका सहभागीहरूले यस्ता अधिवेशनले आपसी सम्बन्ध सुदृढ बनाउन, अनुभव आदानप्रदान गर्न र साझा उद्देश्यका लागि एकजुट हुन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। सम्मानित जेष्ठ नागरिकहरूले पनि यस्तो पहलले आफूहरूलाई उत्साह र सम्मानको अनुभूति गराएको बताएका थिए।
यसरी जेष्ठ नागरिकको सम्मान, नयाँ नेतृत्व चयन र संगठनात्मक गतिविधिको समीक्षा गर्दै सम्पन्न भएको उक्त अधिवेशनले ओली वंश समन्वय समितिको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार गरेको प्रचार विभाग प्रमुख राजकुमार ओलीले बताए ।



