राजकुमार ओली’मेचीनगर, १९वैशाख । झापाको मेचीनगरस्थित मेची उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा व्यवसायी वृत्तमा चुनावी माहोल तातेको छ। विभिन्न राजनीतिक पृष्ठभूमिका व्यवसायीहरू एउटै प्यानलमा उभिएपछि यसपटकको चुनावलाई चासोका साथ हेरिएको छ।
मेचि उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंको नेतृत्वमा पुन“व्यवसायीको साझा समूह” ले आफ्नो उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । सार्वजनिक प्यानलमा अध्यक्षमा प्रसाईं, वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, महिला उपाध्यक्षमा उषा श्रेष्ठ, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर र वाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा रहेका छन्। महासचिवमा दिनेश शाक्य चयन भएका छन् भने सदस्यहरूमा दिनेश पोखरेल, मानकुमार कटुवाल, सुरज चौधरी, सचिन निरौला, ललित अग्रवाल, मीरा कार्की, विजय गुप्ता, रमा आचार्य बस्नेत, फिरोज बराल र चन्द्र घोर्साई रहेका छन्।
उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्याशी प्रसाईंले यसपटकको चुनाव दलभन्दा माथि उठेर व्यवसायीको साझा हितका लागि लडिएको दाबी गरे। “यो शुद्ध व्यवसायीको चुनाव हो, प्रत्यक्ष दलिय हस्तक्षेप छैन। सबै पार्टीमा आबद्ध व्यवसायीहरू मिलेर साझा एजेण्डासहित अघि बढेका छौं,” उनले भने।
उनका अनुसार अघिल्लो कार्यकालमा अधुरा रहेका कामहरू पूरा गर्नु, संघको आफ्नै भवन निर्माण, नाकासँग सम्बन्धित व्यापारिक समस्या समाधान, तथा स्थानीय उद्योग व्यवसायको संरक्षण प्रमुख प्राथमिकतामा रहेका छन्। “चिया, भेनियर, अदुवा लगायतका उत्पादनसँग जोडिएका व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,” उनले थपे।
मेचीनगर नगरपालिकासँगको सहकार्यमा मेची आम्दा अस्पताल, चारआलीको सब्जी मण्डी व्यवस्थापन, भृकुटी क्षेत्रमा टहरा व्यवस्थापनजस्ता कामहरू अघि बढिरहेको पनि प्रसाईंले जानकारी दिए।
यता, चुनावी सरगर्मी बढ्दै जाँदा मेचीनगरका विभिन्न व्यापारिक क्षेत्रहरू—काकरभिट्टा, धुलाबारी, चारआली, धाइजन र बाहुनडाँगी—का व्यवसायीहरूले आफ्ना अपेक्षा र समस्या मुखरित गर्न थालेका छन्।
काकरभिट्टा नाकासँग आवद्ध व्यवसायीहरू सीमा नाकामा हुने ढिलासुस्ती, भन्सार प्रक्रिया र ढुवानी लागतका कारण व्यापार प्रभावित भएको गुनासो गर्छन्। उनीहरूले व्यापार सहजीकरण, पारदर्शी प्रणाली र पूर्वाधार सुधारमा संघले पहल गर्नुपर्ने बताएका छन्।
धुलाबारी क्षेत्रका व्यापारीहरू बजार व्यवस्थापन, पार्किङ अभाव र अव्यवस्थित फुटपाथ व्यापार प्रमुख समस्या भएको बताउँछन्। “बजार विस्तार भइरहेको छ तर व्यवस्थापन पक्ष कमजोर छ,” एक स्थानीय व्यवसायीले भने, “संघले नगरपालिकासँग समन्वय गरेर दीर्घकालीन समाधान ल्याउनुपर्छ।”
चारआली क्षेत्रका उद्योगी व्यवसायीहरू औद्योगिक पूर्वाधारको अभाव, विद्युत् आपूर्ति समस्या र लगानीमैत्री वातावरण नहुँदा उद्योग विस्तारमा कठिनाइ भएको बताउँछन्। उनीहरूले उद्योगमैत्री नीति र सहुलियत आवश्यक रहेको जोड दिएका छन्।
त्यस्तै, धाइजन र बाहुनडाँगी क्षेत्रका साना तथा मध्यम व्यवसायीहरू बजार पहुँच, बैंकिङ सुविधा र प्रवर्द्धन अभावका कारण पछाडि परेको गुनासो गर्छन्। “हामी सीमावर्ती क्षेत्रमा छौं, यहाँका व्यवसायलाई विशेष प्राथमिकता दिनुपर्छ,” बाहुनडाँगीका एक व्यवसायीले बताए।
इट्टाभट्टा व्यवसायसँग सम्बन्धित उद्यमीहरूले वातावरणीय मापदण्ड, कच्चा पदार्थको अभाव र नियमनका विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार अनियमितता र अस्पष्ट नियमले व्यवसाय सञ्चालनमा समस्या सिर्जना गरेको छ।
व्यवसायीहरूका यी विविध अपेक्षा र चुनौतीबीच मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन हुन लागेको हो। संघको निर्वाचन वैशाख २६ गते तय गरिएको छ भने त्यसअघि वैशाख १९ गते धुलाबारीस्थित टाउन हलमा २१औं साधारणसभा हुँदैछ।
यसपटकको चुनावमा विभिन्न राजनीतिक दलमा आबद्ध व्यवसायीहरू एउटै समूहमा उभिनु, साझा एजेण्डा अघि सारिनु र स्थानीय मुद्दाहरूलाई केन्द्रमा राखिनुले मेचीनगरको व्यापारिक नेतृत्व कस्तो बन्ने भन्नेमा चासो बढेको छ। व्यवसायीहरूबीच प्रतिस्पर्धासँगै सहकार्यको सन्देश दिने प्रयासले संघको आगामी कार्यदिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।



