तक्षशिला स्कुल र एभियोट्रोन एरोबेसबीच ऐतिहासिक समझदारी
राजकुमार ओली, २६ वैशाख (पूर्व खबर) : तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुल र भारतस्थित एभियोट्रोन एरोबेस� बीच भविष्य केन्द्रित शिक्षा, एअरोस्पेस प्रविधि तथा नवप्रवर्तनमूलक सिकाइ विस्तारका लागि ऐतिहासिक समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।
बिर्तामोडस्थित स्कुल परिसरमा बुधबार आयोजित कार्यक्रममा स्कुलका कार्यकारी निर्देशक डा. अञ्जली कार्की, शैक्षिक निर्देशक डा. भिक्टर आई. जोसेफ तथा एभियोट्रोन एरोबेसका बिजनेस पार्टनर सुभाषिस चटर्जी बीच औपचारिक रूपमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार तक्षशिलामा एअरोस्पेस, स्पेस टेक्नोलोजी एण्ड रिसर्च, कृत्रिम बौद्धिकता (एआई), डाटा साइन्स, रोबोटिक्स, अटोमेसन, एभिएसन, अटोमोबाइल तथा मोबिलिटी शिक्षासम्बन्धी अत्याधुनिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। स्कुलले यसलाई नेपालमै पहिलो पटक विद्यालय तहमा सुरु हुन लागेको प्रविधिमैत्री तथा अनुसन्धानमुखी शैक्षिक पहलका रूपमा लिएको जनाएको छ।
समझदारीमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यले अत्याधुनिक कम्पोजिट स्किल्स ल्याब, व्यवहारिक प्रयोगशाला, अनुसन्धानमूलक सिकाइ तथा उद्योगसँग सम्बन्धित तालिम कार्यक्रम सञ्चालन गरिनेछ। यसले विद्यार्थीलाई कक्षाकोठामा सीमित सैद्धान्तिक शिक्षाभन्दा बाहिर ल्याएर व्यवहारिक, प्रयोगात्मक तथा सीपमुखी शिक्षामा सहभागी गराउने विश्वास गरिएको छ।
विद्यालय प्रशासनका अनुसार सहकार्यअन्तर्गत विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको प्रविधि र अनुसन्धानसँग परिचित गराउँदै भविष्यका करियर अवसरबारे प्रारम्भिक तयारी गराइनेछ। विशेषगरी एअरोस्पेस, एभिएसन, रोबोटिक्स, अटोमेसन, कृत्रिम बौद्धिकता तथा उन्नत इन्जिनियरिङ क्षेत्रमा आवश्यक आधारभूत ज्ञान र प्रयोगात्मक सीप विकासमा जोड दिइने जनाइएको छ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. कार्कीले वर्तमान शिक्षा प्रणालीलाई समयअनुकूल बनाउँदै विद्यार्थीलाई २१औँ शताब्दीको आवश्यकताअनुसार सक्षम बनाउने उद्देश्यले यस्तो सहकार्य गरिएको बताउनुभयो। उहाँले सिर्जनशीलता, नवप्रवर्तन, अनुसन्धान क्षमता तथा प्राविधिक दक्षताको विकासमार्फत विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्न विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार परम्परागत शिक्षण पद्धतिभन्दा बाहिर निस्केर अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गर्दै विद्यालयले अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य अघि बढाएको हो। “अबको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन सक्दैन,” उहाँले भन्नुभयो, “विद्यार्थीलाई प्रविधि, अनुसन्धान र व्यवहारिक प्रयोगसँग जोड्न सकियो भने मात्रै उनीहरू भविष्यका चुनौती सामना गर्न सक्षम हुन्छन्।”
शैक्षिक निर्देशक डा. जोसेफले पनि यो सहकार्यले विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा थप रुचि र अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले व्यवहारिक सिकाइ तथा परियोजनामूलक शिक्षाले विद्यार्थीको विश्लेषण क्षमता, समस्या समाधान गर्ने दक्षता र सिर्जनशील सोचको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
एभियोट्रोन एरोबेसका प्रतिनिधि चटर्जीले नेपालका विद्यालयस्तरका विद्यार्थीमा प्रविधि तथा अनुसन्धानप्रति बढ्दो आकर्षण रहेको उल्लेख गर्दै तक्षशिलासँगको सहकार्य दक्षिण एशियामै नमुना बन्न सक्ने धारणा राख्नुभयो। उहाँले विद्यालयस्तरमै एअरोस्पेस तथा उन्नत प्रविधि शिक्षा विस्तार गर्न सकिए भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो।
विद्यालयले उक्त सहकार्यलाई प्रोग्रेसिभ शिक्षा, अत्याधुनिक नवप्रवर्तन तथा विश्वस्तरीय उत्कृष्टतातर्फको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ। यस पहलले शिक्षा र व्यवहारिक प्रयोगबीचको दूरी घटाउँदै विद्यार्थीलाई भविष्यका विश्वव्यापी अवसरसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


