राजकुमार ओली,बिर्तामोड, असार ७ – लैङ्गिक तथा यौनिक अल्पसंख्यक (GSM/LGBTIQ+) समुदाय, लैङ्गिक पहिचान तथा यौनिक विविधतासम्बन्धी विद्यालयस्तरीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिर्तामोडमा एकदिने शिक्षक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
लिड नेपालको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा नगरभित्रका ४८ विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईं ले समावेशी शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएको बताउँदै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका बालबालिकाले पनि सम्मान, समान अवसर र सुरक्षित शैक्षिक वातावरण प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयलाई विभेदरहित र समावेशी बनाउन नगरपालिकाले आवश्यक बजेट तथा नीतिगत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लिड नेपालका अध्यक्ष सुशील पौडेल ले विद्यालय तहबाटै समावेशी शिक्षा, लैङ्गिक समानता र मानवअधिकारप्रति सकारात्मक सोच विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका बालबालिकाले भोग्ने चुनौतीप्रति शिक्षकहरू संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चला ले लैङ्गिक पहिचान, यौनिक विविधता तथा संविधानले सुनिश्चित गरेका अधिकारसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले समानता, भेदभावविरुद्धको हक तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारलगायतका संवैधानिक व्यवस्थाबारे जानकारी गराउनुभयो।
अन्तरक्रियाका क्रममा सहभागी शिक्षकहरूले विद्यालयमा लैङ्गिक तथा यौनिक विविधताप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै विभेदरहित सिकाइ वातावरण निर्माणका विषयमा आफ्ना अनुभव र धारणा साझा गरेका थिए। कार्यक्रममा समुदायका प्रतिनिधि सुमन तामाङ ले शिक्षा क्षेत्रमा समुदायले भोग्नुपरेका चुनौती र समावेशी वातावरण निर्माणको आवश्यकताबारे धारणा राख्नुभएको थियो।
कार्यक्रमको निष्कर्षमा सहभागीहरूले विद्यालयलाई अझ सुरक्षित, समावेशी र बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजक लिड नेपालले यस्ता कार्यक्रमले विद्यालयस्तरमा रहेका भ्रम, पूर्वाग्रह तथा विभेद न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



