बिर्तामोड, जेठ २७ — बिर्तामोड नगरपालिकाले सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। निर्धारित अवधिभित्र संरचना नहटाए कानुनी प्रक्रिया पूरा गरी डोजर लगाएर हटाइने नगरपालिकाले जनाएको छ।
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ३५ दिनको समय दिने निर्णय गरेको हो। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र संरचना हटाउन आग्रह गरेको छ।
सूचनाअनुसार बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको सीमाक्षेत्रअन्तर्गत महानन्द चोकदेखि मुक्तिचोक हुँदै देउनियाँसम्मको सडक खण्डमा अभियान सञ्चालन गरिनेछ। उक्त सडक खण्डको क्षेत्राधिकारभित्र पर्ने अनधिकृत संरचना हटाएर सडक खाली गर्न सम्बन्धित घरधनी तथा जग्गाधनीलाई आग्रह गरिएको छ।
नगरपालिकाका अनुसार गत वैशाख १६ गतेको निर्णयअनुसार प्राविधिक टोलीले सडक क्षेत्राधिकारभित्र रहेका संरचनाको नापजाँच तथा रेखाङ्कनको काम सम्पन्न गरेको थियो। त्यसैगरी जेठ १६ गतेको कार्यपालिका बैठकले सडक विभागको समन्वयमा थप प्राविधिक अध्ययन गर्ने निर्णय गरेको थियो।
प्राविधिक टोलीले सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ १५–१५ मिटर क्षेत्राधिकार कायम हुने गरी नापजाँच तथा रेखाङ्कन गरेको जनाएको छ। सोही आधारमा सडक क्षेत्रभित्र परेका संरचनाहरू हटाउन सूचना जारी गरिएको हो।
नगरपालिकाले तोकिएको ३५ दिनभित्र सम्बन्धित पक्षले स्वेच्छाले संरचना नहटाए कानुनबमोजिम नगरपालिकाले आफैँ हटाउने चेतावनी दिएको छ। त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा जग्गाधनीबाट असुलउपर गरिने सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाले सडक विस्तार, यातायात व्यवस्थापन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अभियान सञ्चालन गरिएको जनाएको छ। नगर क्षेत्रको दीर्घकालीन विकास र सुरक्षित आवागमन सुनिश्चित गर्न अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन आवश्यक रहेको नगरपालिकाको भनाइ छ।
स्थानीय तहले जारी गरेको यो निर्णयसँगै सडक क्षेत्रभित्र निर्माण भएका घर, टहरा, पर्खाल तथा अन्य संरचनाको भविष्यबारे स्थानीयवासीमा चासो बढेको छ। नगरपालिकाले भने सार्वजनिक हित र कानुनी व्यवस्थाअनुसार अभियान अघि बढाइने स्पष्ट पारेको छ।



