cURL Error: 0 झापामा विशेष अभियान: ३ दिनमा २६ फरार प्रतिवादी पक्राउ - पूर्व खबर

झापामा विशेष अभियान: ३ दिनमा २६ फरार प्रतिवादी पक्राउ

 

राजकुमार ओली,२७ जेठ:बिर्तामोड, — झापा प्रहरीले अदालतबाट फैसला भई फरार रहेका तथा विभिन्न मुद्दामा खोजी भइरहेका प्रतिवादीलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानअन्तर्गत तीन दिनमा २६ जनालाई पक्राउ गरेको छ। साथै, लागूऔषध गाँजा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा एक दम्पतिलाई समेत नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानका अनुसार जेठ २५ देखि २७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको फैसला कार्यान्वयन तथा फरार प्रतिवादी खोजतलास अभियानका क्रममा २६ जना प्रतिवादी पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये २० जना फैसला कार्यान्वयनतर्फका तथा ४ जना चालु मुद्दातर्फका प्रतिवादी रहेका छन्। उनीहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। त्यस्तै  लागू औषध गाँजा सहित इलाका प्रहरी कार्यालय अनारमुनिको सहयोगमा अस्थायी प्रहरी चौकी बसपार्कबाट एक दम्पतिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये १४ जना लागूऔषध मुद्दाका, ६ जना बैंकिङ कसुरका, २ जना बहुविवाह मुद्दाका तथा एक जना नागरिकता किर्ते मुद्दाका प्रतिवादी रहेका छन्। यसबाहेक चेक अनादर र चोरीसम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई समेत पक्राउ गरिएको छ।

फैसला कार्यान्वयनतर्फ पक्राउ परेका प्रतिवादीहरूबाट कुल पाँच वर्ष तीन महिना छ दिन कैद सजाय र रु छ लाख २१ हजार एक सय जरिवाना असुलउपर हुने देखिएको निमित्त प्रवक्ता चौहानले जानकारी दिए।

उनका अनुसार अदालतबाट फैसला भई फरार रहेका व्यक्तिको खोजी तथा पक्राउलाई प्राथमिकतामा राखी झापा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको छ। “कानुनको पहुँचबाट कोही पनि बाहिर रहन सक्दैन भन्ने सन्देश दिन र अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न अभियानलाई तीव्र बनाइएको हो,” उनले भने।

विशेष अभियानका क्रममा पक्राउ पर्नेमा विजयकुमार भट्टराई, रणबहादुर विक, गणेश ढुङ्गेल, बादल राई, गोपाल रिजाल, सौजन्य किसान, सोवित विक, राजकुमार महतो, माइकल भन्ने ईश्वर गुरुङ, फिस्टे भन्ने अजय लिम्बू, जय भन्ने प्रवेश लावती, महेश रौवा, प्रितमकुमार, भिलेन धिमाल, लिला भन्ने लिलाराज कडरिया, होमबहादुर मगर, प्रदीप टुडु, रोमा देवी गिरी, जीवन इदिङ्गो, सविता श्रेष्ठ, जमुनादेवी इङ्नाम, मञ्जु राजवंशी, नारद अधिकारी तथा अविरलाल राजवंशीलगायत रहेका छन्।

यसैबीच, झापा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई पनि सँगसँगै अघि बढाएको जनाएको छ। बुधबार बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी बस्तीबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन्।

गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी नयाँ बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले छापा मार्दा ५८ वर्षीय मोहम्मद जाबुल र उनकी ६५ वर्षीया श्रीमती सयरुन खातुनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको घरबाट डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ४०४ ग्राम तथा प्लास्टिकबाहेक ३६० ग्राम गाँजा बरामद भएको छ। बरामद गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको बताए। उनले लागूऔषध कारोबारमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे।

झापामा पछिल्लो समय लागूऔषध दुव्र्यसन तथा कारोबार नियन्त्रण, अदालतका फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले तीव्रता दिएको छ। जिल्ला प्रहरी कार्यालयले विभिन्न प्रहरी इकाइको समन्वयमा विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

प्रहरीका अनुसार फरार प्रतिवादी पक्राउ अभियानले अदालतका फैसला कार्यान्वयनमा प्रभावकारिता ल्याउनुका साथै अपराध नियन्त्रणमा समेत सहयोग पुगेको छ। अदालतबाट सजाय तोकिएपछि फरार भएका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई आगामी दिनमा थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।

निमित्त प्रवक्ता चौहानले झापा जिल्लाभर सञ्चालन भइरहेको विशेष अभियानलाई निरन्तरता दिइने जानकारी दिँदै कानुन कार्यान्वयन, अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए।

उनले नागरिकलाई पनि लागूऔषध कारोबार, फरार अभियुक्त वा अन्य आपराधिक गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेका छन्। प्रहरी र समुदायबीचको सहकार्यबाट मात्रै अपराध नियन्त्रण अभियान प्रभावकारी बन्ने उनको भनाइ छ।

झापा प्रहरीले पछिल्ला तीन दिनमा फरार प्रतिवादी पक्राउदेखि लागूऔषध नियन्त्रणसम्मका कारबाहीलाई उपलब्धिमूलक भएको जनाएको छ। विशेष अभियानमार्फत पक्राउ परेका प्रतिवादीविरुद्ध सम्बन्धित कानुनअनुसार थप प्रक्रिया अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *