cURL Error: 0 तक्षशिलाले गर्यो मदरसामा शैक्षिक सामग्री र फर्निचर हस्तान्तरण - पूर्व खबर

तक्षशिलाले गर्यो मदरसामा शैक्षिक सामग्री र फर्निचर हस्तान्तरण

 

राजकुमार ओली,२७ जेठ— सामाजिक उत्तरदायित्वअन्तर्गत तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले झापा गाउँपालिकास्थित दुई मदरसालाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण गरेको छ।
विद्यालयले झापा गाउँपालिकामा रहेका मदरसा इस्लामिया रोहिमारी र मुस्लिम गर्ल्स मदरसामा अध्ययनरत विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण गरेको जनाएको छ।
विद्यालयका संरक्षक दुर्गा प्रसाद प्रसाईंको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा ६० सेट डेस्क–बेन्च हस्तान्तरण गरिएको थियो। साथै विद्यार्थीको अध्ययनलाई थप सहज र व्यवस्थित बनाउन १० वटा कक्षाकोठाको पूर्ण व्यवस्थापन (फर्निसिङ) गरी सम्बन्धित मदरसालाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै संरक्षक प्रसाईंले शिक्षा समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै सबै बालबालिकाले गुणस्तरीय शिक्षामा समान पहुँच पाउनुपर्ने धारणा व्यक्त गरे। उनले शैक्षिक संस्थाको सुदृढीकरण र आवश्यक पूर्वाधार विकासमार्फत सक्षम तथा शिक्षित समाज निर्माण गर्न सकिने बताए।
विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली काकी प्रसाईंले विद्यालयले आफ्ना विद्यार्थीमा मात्र सीमित नरही समाजका विभिन्न वर्ग र समुदायसम्म शिक्षा तथा सामाजिक सेवाका कार्यक्रम विस्तार गर्दै आएको बताइन्। यस्ता कार्यक्रमले सामाजिक सद्भाव, समावेशिता र शैक्षिक अवसरको विस्तारमा टेवा पुग्ने उनको भनाइ थियो।
शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण कार्यक्रमपछि सोही स्थानमा बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो।
शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको आयोजकले जनाएको छ। शिविरबाट स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा समुदायका अन्य सदस्य लाभान्वित भएका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, मदरसा व्यवस्थापन समिति, शिक्षक, अभिभावक, समाजसेवी तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
विद्यालयले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामार्फत समुदायको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *