बिर्तामोड, असार ३ । बिर्तामोडस्थित कृषि उपज थोक बजार व्यवस्थापन समितिका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप लगाउँदै समितिले प्रहरीमा जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको छ। आरोपित पक्षले भने कुटपिट नभई सामान्य भनाभन मात्र भएको दाबी गरेको छ।
कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक सिताराम नेपालले इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको जाहेरीमा बिहान करिब १०ः२५ बजे कार्यालय परिसरमा प्रवेश गरी केही व्यवसायीले कर्मचारीहरूमाथि गालीगलौज, दुर्व्यवहार तथा कुटपिट गरेको उल्लेख छ। जाहेरीमा महिला कर्मचारीमाथि समेत अभद्र व्यवहार भएको र कार्यालयका सामग्रीमा क्षति पुर्याइएको दाबी गरिएको छ।
तर घटनामा संलग्न भनिएका व्यवसायी नवलकिशोर शाहले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। शाहका अनुसार कार्यालयभित्र आफूहरूको भिडियो खिचिएपछि विवाद सुरु भएको थियो।
“कार्यालयभित्र भिडियो खिचिएपछि त्यसबारे सामान्य विवाद र भनाभन भएको हो, कुटपिट भएको छैन,” शाहले भने, “हामीले कसैलाई हातपात गरेका छैनौं। घटनालाई अनावश्यक रूपमा बढाइचढाइ गरिएको छ।”
घटनापछि कृषि बजार व्यवस्थापन समितिकी कर्मचारी दिबया सिटौला लुइटेलले कार्यालयभित्रै कर्मचारीमाथि भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्। उनले सार्वजनिक कार्यालयभित्र कर्मचारीहरू असुरक्षित हुने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताइन्।
“कार्यालयभित्रै यसरी दुर्व्यवहार र विवाद हुनु दुःखद हो,” लुइटेलले भनिन्, “घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्छ।”
पछिल्लो समय कृषि उपज थोक बजारमा टहरा निर्माण, सटरको नवीकरण तथा व्यवसाय सञ्चालनको अधिकार सम्बन्धी विषयमा विवाद चुलिँदै गएको पाइएको छ। बजार व्यवस्थापन समितिले सम्झौताविपरीत सञ्चालन भएका पसल तथा संरचनालाई व्यवस्थित गर्ने प्रक्रिया अघि बढाएपछि केही व्यवसायी र समितिबीच मतभेद बढेको स्रोतले जनाएको छ।
व्यवसायीहरू भने आफूहरूले वर्षौंदेखि सञ्चालन गर्दै आएका व्यवसायलाई वैधानिकता दिनुपर्ने माग गर्दै आएका छन्। बजार व्यवस्थापन समितिले निर्देशिकाअनुसार मात्रै व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने अडान लिएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले दुवै पक्षको भनाइ लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार प्राप्त जाहेरी र उपलब्ध प्रमाणका आधारमा घटनाको सत्यतथ्यबारे थप अनुसन्धान भइरहेको छ।
कृषि उपज थोक बजार पूर्वी नेपालकै प्रमुख कृषि व्यापार केन्द्रका रूपमा परिचित रहेकाले पछिल्ला विवादले बजार व्यवस्थापन र व्यवसाय सञ्चालनको विषयलाई थप चर्चामा ल्याएको छ।



