जबरजस्ती करणी उद्योगमा मुद्दा दर्तापछि पुर्व भेनियर सञ्चालक सम्पर्कविहीन

बिर्तामोड,चैत ४ गते । जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा जाहेरी परेपछि झापाका एक उद्योगी फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–१४ निवासी २३ वर्षीया युवतीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा उद्योगी प्रदीप मित्तलविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दर्ता भएको छ।
प्रहरीका अनुसार मिति चैत ३ गते दिउँसो करिब १ः१५ बजे ती युवती आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा मित्तल घरमै गई जबर्जस्ती करणी गर्ने उद्योग गरेको आरोप लागेको हो। घटनापछि पीडित र उनका परिवारले जाहेरी दिएका हुन्।
घटनासँग सम्बन्धित यौनजन्य शारीरिक परीक्षण लगायतका आवश्यक प्रक्रिया सम्पन्न भइसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका मित्तल फरार रहेकाले उनको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिनुभयो। आरोपित मित्तललाइ किटानी जाहेरीको विषयमा सोधखोज गर्न सम्पर्क गरिएको तर उनको फोन अफ भएको देखिएको छ। मित्तलका परिवारसँग सम्पर्क गर्दा मित्तल पानी खानको निम्ति घरसम्म पुगेको तर कुनै अवाञ्चित गतिविधि नगरेको दाबी गर्दै लगाइएको आरोप झुटो भएको दाबी गरिएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *