झापा, चैत ५ । झापाको दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत अवस्थामा फेला परेका छन् ।
५० वर्षीय न्यौपाने कमलनगर जेसीजका संस्थापक अध्यक्षसमेत हुन् ।
प्रहरीका अनुसार न्यौपानेको शव आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजार नजिकै भेटिएको हो । उनी सानो रुखको हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
दमकबाट करिब ३० किलोमिटर दक्षिणमा रहेको उक्त स्थानमा उनी हिजो खेती हेर्न गएका थिए । स्थानीयले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
न्यौपाने सडक विभाग कार्यालयअगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका थिए । घटनास्थल नजिकै गौरीगञ्ज–१ स्थित सीमा प्रहरी बेस क्याम्प रहेको छ ।
उनको शरीर हिलाम्मे अवस्थामा रहेको र मोटरसाइकल घटनास्थलभन्दा टाढा भेटिएकाले घटना शंकास्पद देखिएको परिवारको भनाइ छ ।
प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


