मेचीनगर,८ चैत । मेचीनगर–१४ मा बग्ने हडिया खोलाको क्षेत्र अतिक्रमण गरी पाँचतारे होटल निर्माण भइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन्। खोलाको बहाव क्षेत्रमै संरचना निर्माण गर्न थालिएको भन्दै स्थानीयवासीले यसले भविष्यमा बाढी तथा डुबानको जोखिम बढाउने चिन्ता व्यक्त गरेका हुन्।
यसै विषयमा आयोजित भेलामा मेचीनगर–१४ का वडाअध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो। भेलालाई सम्बोधन गर्दै अध्यक्ष सुब्बाले स्थानीय युवाहरूले उठाएका कानुनी प्रक्रियासँग सम्बन्धित जायज मागप्रति वडा कार्यालयको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाए। उनले विकास निर्माणका नाममा प्राकृतिक स्रोतको दोहन वा अतिक्रमण स्वीकार्य नहुने उल्लेख गर्दै कानुनअनुसार आवश्यक कदम चालिने बताए।
बिन्दा प्रसाईंको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रबिण भट्टराई, निरन गौतम, दिवस भट्टराई, रोशन अधिकारी, कृष्णकुमारी सुवेदी लगायतले टोलभित्र देखिएका विभिन्न समस्याबारे जानकारी गराएका थिए। उनीहरूले विशेषगरी हडिया खोलाको किनार क्षेत्रमा भइरहेको निर्माण कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
स्थानीयका अनुसार खोलाको प्राकृतिक बहाव क्षेत्रमै माटो पुरी संरचना खडा गर्ने कार्य भइरहेको छ, जसले वर्षायाममा पानीको निकास अवरुद्ध भई आसपासका बस्ती जोखिममा पर्न सक्ने अवस्था सिर्जना हुन सक्ने उनीहरूको भनाइ छ। “खोलाको क्षेत्र साँघुरो बनाइँदैछ, यसले दीर्घकालीन रूपमा ठूलो समस्या निम्त्याउन सक्छ,” एक स्थानीयले बताएका छन्।
यता, उक्त होटल निर्माण कार्यका सञ्चालक मित्तलले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। सञ्चारकर्मीले सम्पर्क गर्दा उनले सम्पूर्ण काम कानुनसम्मत रूपमा भइरहेको दाबी गरे। “हामीले आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्रै निर्माण सुरु गरेका हौँ, अतिक्रमणको आरोप पूर्ण रूपमा झुटो हो,” उनले भने। उनले सम्बन्धित निकायबाट स्वीकृति लिएर मात्र काम अगाडि बढाइएको स्पष्ट पारे।
भेलामा सहभागीहरूले भने सम्बन्धित निकायमार्फत स्थलगत अध्ययन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले यदि अतिक्रमण पुष्टि भएमा निर्माण कार्य तत्काल रोक्न र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा भवानीशंकर मिश्रले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए। भेलामा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
यस विषयले अहिले मेचीनगर क्षेत्रमा व्यापक चासोको विषय बनेको छ। स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा सरोकारवालाहरूबीच समन्वय गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ।


