दमक र झापा गाउँपालिकामा बर्ड फ्लु पुष्टि: विज्ञ टोली नष्ट गर्दै कुखुरा

बिर्तामोड, ८ चैत । झापामा बर्डफ्लू संक्रमण पुष्टि भएपछि कोशी प्रदेश सरकारले अनुसन्धान सुरु गरेको छ।
दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर कृषि फार्म र झापा गाउँपालिका–७ स्थित सुदिक्षा कृषि फार्ममा रहेका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको हो।
भेटेनरी अस्पताल झापाकी प्रमुख शितल भट्टराईका अनुसार दमकस्थित फार्ममा गरिएको प्रयोगशाला परीक्षणमा हाइली प्याथोजेनिक एच–फाइभ एन–वान (H5N1) र झापा गाउँपालिकास्थित सुदिक्षा फार्ममा लो प्याथोजेनिक एच–नाइन (H9) प्रकारको बर्डफ्लू देखिएको छ।
ल्याब परीक्षणको रिपोर्ट प्राप्त भएसँगै कोशी प्रदेशको पशुपन्छी तथा भेटेनरी सेवासम्बन्धी निकायको टोलीले प्रभावित क्षेत्रमा अनुसन्धान थालेको उनले जानकारी दिइन्। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रलाई चारकिल्ला तोकी नियन्त्रणमा लिइएको छ।
संघीय पशु सेवा विभागको निर्देशनअनुसार सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी संक्रमित फार्मका कुखुरा नष्ट गर्ने तयारी गरिएको छ।
सुदिक्षा फार्ममा रहेका करिब पाँच हजार पाँच सय कुखुरामध्ये चार हजार पाँच सय कुखुरा मरेका छन् भने दमकस्थित फार्ममा रहेका करिब २० हजार कुखुरामध्ये १२ हजार कुखुरा मरेको व्यवसायीको दाबी छ। दुवै फार्ममा लेयर्स तथा लोकल जातका कुखुरा पालिएको थियो।
रेपिड रेस्पोन्स टोलीले आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पीपीई र एन–९५ मास्क प्रयोग गरी कुखुरा नष्ट गर्ने र प्रभावित फार्मलाई ४५ दिनसम्म शिल गर्ने तयारी गरिएको भट्टराईले बताइन्।
संक्रमित फार्मका सञ्चालकलाई क्षतिपूर्ति, जैविक सुरक्षा, डिसइन्फेक्सन, चुना तथा औषधि प्रयोग र बीमासम्बन्धी विषयमा सचेत गराइने जनाइएको छ।
यसअघि मोरङ र सुनसरीमा पनि बर्डफ्लू देखिएकाले खुला सीमा नाकाबाट संक्रमण भित्रिएको हुन सक्ने आशंका गरिएको छ। सोही कारण सीमा क्षेत्रमा निगरानी बढाइने र सुरक्षा व्यवस्था कडा पारिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *