राजकुमार ओली बिर्तामोड, चैत ११ । झापाको कमल गाउँपालिका–५ पाडाजुगि मा अवस्थित भृकुटी अस्पतालले औपचारिक रूपमा बाह्यरोगी सेवा (ओपीडी) सुरु गरेको छ। अस्पतालले प्रारम्भिक चरणमा ओपीडी सेवा सञ्चालनमा ल्याउँदै बिरामीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
अस्पताल प्रशासनका अनुसार ओपीडी सेवा शुल्क गरिएको र प्रतिव्यक्ति रु १ सय निर्धारण गरिएको छ। न्यून शुल्कमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। स्थानीय बासिन्दालाई लक्षित गर्दै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजनाअनुसार सेवा सञ्चालन गरिएको बताइएको छ।
अस्पतालका सञ्चालक बुद्दिराम थापाले दमकसँगै जोडिएको रणनीतिक स्थानमा अस्पताल स्थापना गरिएकाले यस क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार अस्पतालले आगामी दिनमा विशेषज्ञ सेवा विस्तार गर्दै उच्चस्तरीय उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
“हामीले अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गर्दै क्रमशः विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नेछौं,” थापाले भन्नुभयो, “स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्राथमिकता हो।”
पछिल्लो समय झापामा मेडिकल कलेज तथा ठूला स्वास्थ्य संस्थाको माग बढ्दै गएको सन्दर्भमा निजी क्षेत्रबाट स्वास्थ्य पूर्वाधार विकासमा सक्रियता बढिरहेको छ। यसै क्रममा भृकुटी अस्पतालको सञ्चालनलाई स्वास्थ्य क्षेत्रमा सकारात्मक पहलका रूपमा हेरिएको छ।
स्थानीय सञ्चारकर्मी विष्णु पोखरेलले झापालाई मेडिकल हबका रूपमा विकास गर्ने प्रयास भइरहेका बेला कमल–५ मा आधुनिक अस्पताल सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसले स्थानीय बासिन्दामा स्वास्थ्य सेवाप्रति भरोसा र उत्साह थपिएको उल्लेख गर्नुभयो।
अस्पताल सञ्चालनमा आएसँगै कमल गाउँपालिका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सामान्य तथा प्राथमिक उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। साथै, समयमै उपचार पाउने सम्भावना बढ्नुका साथै स्वास्थ्य सेवामा सहज पहुँच विस्तार हुने विश्वास लिइएको छ।
अस्पतालले आगामी दिनमा आपत्कालीन सेवा, प्रयोगशाला, एक्स–रे तथा अन्य आवश्यक स्वास्थ्य सेवाहरू क्रमशः विस्तार गर्ने योजना अघि सारेको छ। स्थानीय तहसँग सहकार्य गर्दै सेवा प्रभावकारी बनाउने तयारीसमेत गरिएको जनाइएको छ। दमक क्षेत्रका बिरामीको लागि आपत्कालीन अवस्थामा बिर्तामोडको बिएनसी मेडिकल कलेज र बिर्तासिटीअस्पताल अथवा विराटनगरको न्युरो नवेल या विराट मेडिकल कलेज जानुको विकल्प थिएन। दमकमा सञ्चालित दमक अस्पताल, निम्स, लाइफलाइन, केवोच बाल अस्पताल, आमदा अस्पताल लगायतबाट बिरामीले सेवा लिनु परिरहेको छ। तर आपत्कालीन अवस्थामा यहाँका नागरिकहरूको लागि बिर्तामोड वा विराटनगर जानुको विकल्प थिएन। पछिल्लो समय दमक चोकबाट पूर्व २ किलोमिटरमा सञ्चालनमा आएको यो अस्पतालबाट सस्तो र गुणस्तर सेवा पाउनेमा स्थानीय बासी हरु आशावादी देखिएका छन् ।



