भद्रपुरमा जारी महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीको पोल्टामा

झापा, १५ चैत । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सम्पन्न नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सिलिगुडीले भारतकै अलपाइन स्पोर्टिङ क्लब, सिक्किमलाई २ रनले पराजित गर्दै उपाधि हात पारेको हो । वर्षाका कारण १० ओभरमा सीमित गरिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिलिगुडीले निर्धारित ओभरमा ७४ रन बनाएको थियो ।
जवाफमा टस जितेर फिल्डिङ रोजेको सिक्किमले १० ओभरमा ७२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ११ रन आवश्यक रहे पनि सिक्किमले ९ रन मात्र जोड्न सकेपछि उपाधिबाट वञ्चित भयो ।
नेपाल–भारत मैत्री संघ, कोशी प्रदेशको आयोजनामा पहिलोपटक भएको प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले रु ८० हजार नगदसहित शील्ड प्राप्त गर्यो । उपविजेता सिक्किमले रु ५० हजार नगदसहित शील्ड हात पार्यो ।
प्रतियोगितामा सहभागी नेपालतर्फको मिलन क्रिकेट क्लब, झापाले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्यो ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ विजेता टिमकी तनुजा सरकारले प्राप्त गरिन् । प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर ह्याप्पी सरकार र सर्वोत्कृष्ट बलर हितन राय घोषित भए । ‘म्यान अफ द सिरिज’ उपविजेता टिमकी मरिन सुब्बा भइन् ।
विजेता तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन, नेपाल–भारत मैत्री संघका केन्द्रीय अध्यक्ष शैलेन्द्र मोहन झा लगायतले पुरस्कार वितरण गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रथम सचिव नन्दनले नेपाल–भारतबीचको सुमधुर सम्बन्ध खेलकुदमार्फत अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले मेची क्याम्पस क्रिकेट मैदानको स्तरोन्नतिका लागि दूतावासको तर्फबाट आवश्यक पहल गर्ने बताए ।
नेपाल–भारत मैत्री संघ, कोशी प्रदेशका अध्यक्ष छत्रबहादुर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मेची बहुमुखी क्याम्पसका प्रमुख देवी आचार्यले भारतीय दूतावासका प्रतिनिधिलाई ज्ञापनपत्रसमेत हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *