बिर्तामोड, १६ चैत्र पूर्वखबर
नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा सञ्चार क्षेत्रका चुनौती र पत्रकारको भूमिकामाथि गम्भीर बहस गर्दै काकरभिट्टामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको प्रमुख आतिथ्य तथा संस्थापक महासचिव चन्द्र भण्डारीको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा ‘पत्रकारको शुद्धिकरण तथा सञ्चारकर्मीको अबको भूमिका’ विषयक अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका चुनौतीहरूलाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा तथ्यपरक पत्रकारिता चुनौतीमा परेको उल्लेख गर्दै पत्रकारहरूले सत्य, निष्पक्षता र विश्वसनीयतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। पत्रकारितामा देखिएको विकृति, अपुष्ट समाचारको प्रवाह र पेशागत मर्यादामा आएको ह्रासलाई सुधार गर्नु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ थियो।
त्यस्तै, संस्थापक महासचिव भण्डारीले पत्रकारिता पेशा केवल सूचना प्रवाहको माध्यम मात्र नभई समाज रूपान्तरणको महत्वपूर्ण औजार भएको उल्लेख गरे। उनले सञ्चारकर्मीहरूले जिम्मेवार, उत्तरदायी र नैतिक पत्रकारिता अभ्यास गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा अग्रसर हुनुपर्ने बताए। वर्तमान परिवेशमा पत्रकारहरूलाई विभिन्न किसिमका दबाब र जोखिमहरू बढ्दै गएको भन्दै उनले त्यसको सामना गर्न संस्थागत एकता र पेशागत अनुशासन अपरिहार्य भएको धारणा व्यक्त गरे।
कार्यक्रममा कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले पनि सञ्चार क्षेत्रभित्रै आत्मशुद्धिको आवश्यकता औँल्याइन्। उनले पत्रकारितामा विश्वसनीयता कायम राख्न आचारसंहिताको कडाइका साथ पालन गर्नुपर्ने र नयाँ पुस्ताका सञ्चारकर्मीलाई पेशागत मूल्यमान्यता सिकाउने वातावरण सिर्जना गर्नुपर्ने बताइन्। साथै, उनले डिजिटल मिडियाको विस्तारसँगै आएको प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिँदै गुणस्तरीय सामग्री उत्पादनमा जोड दिन आग्रह गरिन्।
यसैगरी, कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सञ्चार क्षेत्रमा देखिएका चुनौती, अवसर र सम्भावनाबारे चर्चा गर्दै पत्रकारितालाई अझ प्रभावकारी, जिम्मेवार र जनमुखी बनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरू गणेश पोख्रेल, मोहन काजी, चिन्तामुनि दाहाल, लगायतले संचार क्षेत्रमा देखेका चुनौती र अबको सम्भावना विषय मा रहेर शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा झापाका मेचीनगर बिर्तामोड दमक भद्रपुर लगायतका वरिष्ठ तथा युवा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
स्थापना दिवसका अवसरमा गरिएको अन्तरक्रियाले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।



