पुरानाको अनुभव र नयाँको ऊर्जा: आजको पत्रकारिता-डा उप्रेती

सबिना खरेल,अर्जुनधारा,
फेक र ‘टिप–फेक’ समाचारको बढ्दो प्रवृत्तिले पत्रकारितामा जोखिम बढ्दै गएको वरिष्ठ सञ्चारकर्मी डा. टङ्क उप्रेतीले बताएका छन्। उनले सत्यतथ्यमा आधारित, उत्तरदायी र विकासमुखी पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
झापाको अर्जुनधारा–८ स्थित सनेश्वरे बजारमा आयोजित विकास पत्रकारिता तालिम उद्घाटन गर्दै उप्रेतीले वर्तमान समयमा ‘सक्सेसफुल डेभलपमेन्ट जर्नालिज्म’ अपरिहार्य बनेको बताए। नेपाल टेलिभिजनका निर्देशक उप्रेतीले सूचना प्रवाहको तीव्रता बढेसँगै गलत र भ्रामक सामग्री पनि उत्तिकै फैलिने खतरा रहेको उल्लेख गर्दै पत्रकारहरूलाई तथ्य परीक्षण (फ्याक्ट–चेक) मा सजग रहन आग्रह गरे।
उनका अनुसार विकास पत्रकारिता केवल सूचना प्रवाहमा सीमित नभई समाजको आर्थिक, सामाजिक र संरचनात्मक रूपान्तरणसँग जोडिएको हुन्छ। “समाचारले जनतालाई सूचित मात्र होइन, सशक्त पनि बनाउनुपर्छ,” उनले भने, “त्यसका लागि जिम्मेवार पत्रकारिता आजको आवश्यकता हो।”
तालिममा झापाका अग्रज सञ्चारकर्मीहरू, टेलिभिजनकर्मी तथा युवा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको आयोजक अर्जुनधारा ८ वडा कार्यालय ले जनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य राजकुमार ओली, वरिष्ठ साहित्यकार कृष्ण बराल तथा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
अग्रज सञ्चारकर्मीहरू गणेशमान मुखिया, हिमाल खरेल, अर्जुन राजवंशीलगायत नयाँ पुस्ताका सञ्चारकर्मीहरूको सहभागिताले तालिमलाई थप प्रभावकारी बनाएको आयोजकका संयोजक तथा अर्जुनधारा–८ का वडाध्यक्ष कुमार उप्रेतीले जानकारी दिए। उनले स्थानीय तहमा विकास पत्रकारिताको अभ्यासलाई बलियो बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
तालिममा पछिल्लो समय नेपालमा देखिएको आर्थिक सबलीकरण, स्थानीय तहको आर्थिक गतिविधि तथा सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा गहिरो छलफल गरिएको थियो। सहभागीहरूले विकासका मुद्दालाई केन्द्रमा राखेर समाचार लेखन, अनुसन्धानमूलक रिपोर्टिङ र तथ्यमा आधारित सामग्री उत्पादनबारे व्यावहारिक ज्ञान हासिल गरेका छन्।
कार्यक्रममा सहभागी ज्ञानु भट्टराईले तालिम अत्यन्त फलदायी भएको प्रतिक्रिया दिँदै यसले आफ्नो पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। “हामीले समाचारलाई विकाससँग कसरी जोड्ने भन्नेबारे स्पष्ट धारणा पाएका छौँ,” उनले भने।
आयोजकका अनुसार तालिमले स्थानीय पत्रकारहरूलाई जिम्मेवार, तथ्यपरक र विकासमुखी पत्रकारिता अभ्यास गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *