राजकुमार ओली १८ चैत (पूर्व खबर): शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको “शैक्षिक संस्थामा हरेक शनिबार र आइतबार अनिवार्य बिदा” सम्बन्धी सूचना पूर्ण रूपमा भ्रामक रहेको स्पष्ट पारेको छ।
मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर गलत सूचना प्रसारण गरिएको जनाएको हो। विज्ञप्तिमा उक्त सूचनाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै हालसम्म त्यस्तो कुनै आधिकारिक निर्णय नभएको प्रस्ट पारिएको छ।
मन्त्रालयका अनुसार केही दिनयता सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत मन्त्रालयको नाम, लोगो र हस्ताक्षर दुरुपयोग गरी नक्कली सूचना प्रसारण गरिएको पाइएको छ। यसले शैक्षिक क्षेत्रका सरोकारवाला निकाय, विद्यालय तथा अभिभावकमा अन्योल सिर्जना गरेको जनाइएको छ।
विज्ञप्तिमा मन्त्रालयले यस्ता कपोलकल्पित सूचना र नक्कली कागजात प्रयोग गरी भ्रम फैलाउने कार्य गैरकानुनी भएको स्मरण गराएको छ। “यस्ता झुटा सूचना फैलाउने तथा सरकारी कागजात, छाप र दस्तखत दुरुपयोग गर्ने व्यक्तिहरूलाई पहिचान गरी कानुनअनुसार कारबाहीको दायरामा ल्याइनेछ,” विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले देशभरका सबै शैक्षिक संस्था, स्थानीय तह, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई अपुष्ट तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। साथै, कुनै पनि नीतिगत निर्णय वा सूचना मन्त्रालयका आधिकारिक माध्यमबाट मात्र सार्वजनिक गरिने भएकाले त्यस्ता आधिकारिक स्रोतलाई मात्र आधार मान्न अनुरोध गरिएको छ।
मन्त्रालयले पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराएको छ। यस्ता गतिविधिले शैक्षिक प्रणालीप्रति अविश्वास बढाउने र अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
यस्तै, मन्त्रालयले सूचना प्रवाहमा पारदर्शिता कायम राख्दै समय–समयमा आधिकारिक धारणा सार्वजनिक गर्दै आएको जनाएको छ। कुनै शंका वा अन्योल उत्पन्न भएमा मन्त्रालयका आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल पेज वा सम्बन्धित निकायमार्फत पुष्टि गर्न समेत अनुरोध गरिएको छ।
मन्त्रालयले सत्य र प्रमाणित सूचनाको मात्र अनुसरण गर्न सबैलाई आग्रह गर्दै शैक्षिक क्षेत्रमा अनुशासन, विश्वसनीयता र सहकार्य कायम राख्न अपिल गरेको छ।



