राजकुमार ओली।, ११ बैशाख:इलाम (पूर्व खबर/
। पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली ले संघीय सरकारका सबै निर्णय प्रदेशले अन्धाधुन्ध मान्नैपर्छ भन्ने बाध्यता नरहेको स्पष्ट पार्नुभएको छ। प्रदेश सरकारले आफ्ना आवश्यकता र प्राथमिकताका आधारमा स्वतन्त्र रूपमा निर्णय लिन सक्ने उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रदेशकै भूमिका निर्णायक हुने बताउनुभयो।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा तथा पर्यटन कार्यालय काँकरभिट्टा को आर्थिक सहयोगमा इलामको सूर्योदय नगरपालिका–५ स्थित अन्तु डाँडा होमस्टेमा सुरु भएको चार दिवसीय पर्यटन पत्रकारिता तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सो धारणा व्यक्त गर्नुभएको हो।
उहाँले इलामको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई प्रभावकारी रूपमा उजागर गर्न सके पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने बताउनुभयो। “जिम्मेवार, तथ्यपरक र सन्तुलित पत्रकारितामार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
पर्यटन कार्यालयका काँकरभिट्टाका प्रमुख प्रमुख छवि खतिवडा ले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनका लागि सञ्चारमाध्यमसँग सहकार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले स्थानीय स्तरका आकर्षणलाई उजागर गर्ने सामग्री उत्पादनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
त्यस्तै सुर्योदय नगरका का व नगरप्रमुखदुर्गा बराल ले सूर्योदय नगरपालिकामा पर्यटन पूर्वाधार विस्तार र होमस्टे प्रवर्द्धनमा स्थानीय तहले विशेष ध्यान दिएको बताउनुभयो। उहाँले अन्तु क्षेत्रको प्राकृतिक सौन्दर्य र सूर्योदय दृश्यले पर्यटक आकर्षित गरिरहेको उल्लेख गर्दै पत्रकारितामार्फत यसको प्रचारप्रसार अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
एकराज धिमिरे ले होमस्टे व्यवसाय ग्रामीण पर्यटनको मेरुदण्डका रूपमा विकास भइरहेको बताउँदै स्थानीय संस्कृति, खानपान र जीवनशैलीलाई पर्यटकसमक्ष प्रस्तुत गर्न पत्रकारिताले पुलको काम गर्न सक्ने धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता भरत खड्का ले गर्नुभएको थियो। उहाँले पर्यटन क्षेत्रको दिगो विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै तालिमले सहभागीहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो।
चार दिनसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका सात जिल्लाबाट ३५ जना पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। तालिममा पर्यटन पत्रकारिताको अवधारणा, समाचार तथा फीचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल सामग्री उत्पादनजस्ता विषयमा प्रशिक्षण दिइँदैछ।
तालिममा मोहन मैनाली लगायतका प्रशिक्षकहरूले सहजीकरण गरिरहनुभएको छ। सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइने कार्यक्रम रहेको जनाइएको छ।
सो अवसरमा महासंघले प्रकाशन गरेको क्यालेन्डरसमेत विमोचन गरिएको थियो। उद्घाटन सत्रमा विभिन्न जिल्लाका पत्रकार नेतृत्व तथा सरोकारवालाहरूले पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे धारणा राखेका महासङ्घका उपाध्यक्ष एवं कार्यक्रम संयोजक अम्बिका भण्डारीले पूर्व खबरलाई बताउनुभयो।



