इलाम । अन्तु डाँडा मा आयोजित चारदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा तथा पर्यटन कार्यालय काँकरभिट्टा को आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा प्रदेशका सात जिल्लाबाट आएका ३५ जना पत्रकारहरूको सहभागिता रहेको थियो।
तालिम समापन समारोहमा एकराज घिमिरे ले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो। उहाँले ग्रामीण पर्यटन प्रवर्द्धनमा होमस्टेहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै पत्रकारितामार्फत स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई व्यापक रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
समापन कार्यक्रममा भरत बहादुर खड्का, कुमोद अधिकारी, अम्बिका भण्डारी, सुदीप कोइराला र सचिव अरविन्द्र मेहेता लगायतले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा पत्रकारहरूको क्षमता अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकालाई थप सुदृढ बनाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
त्यसै अवसरमा वरिष्ठ सञ्चारकर्मी मोहन मैनालीको योगदानलाई सम्मानस्वरूप सञ्चारकर्मीहरूले उत्साहका साथ साथ दिएका थिए। उहाँले तालिम अवधिभर सहजीकरण गर्दै सहभागीहरूलाई व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्नुभएको थियो।
चार दिनसम्म सञ्चालन भएको तालिममा पर्यटन पत्रकारिताको अवधारणा, समाचार तथा फीचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल सामग्री उत्पादनजस्ता विषयमा प्रशिक्षण दिइएको थियो। सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको आयोजकले जनाएको छ।
तालिमले सहभागी पत्रकारहरूलाई पर्यटनमैत्री, जिम्मेवार र प्रभावकारी सामग्री उत्पादनमा सक्षम बनाउने अपेक्षा गरिएको छ। साथै, इलामसहित कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको अन्तु डाँडा, गुफा पाताल, मेची नदीको उद्गमस्थल, अन्तु पोखरी मा समेत सञ्चारकर्मीहरू पुगेर स्थलगत रिपोर्टिङ समेत गरेका थिए।।



