cURL Error: 0 विराट गोल्डकप फाइनल जित्ने झापा ११ का खेलाडीलाई गृह नगरमा सम्मान - पूर्व खबर

विराट गोल्डकप फाइनल जित्ने झापा ११ का खेलाडीलाई गृह नगरमा सम्मान

बिर्तामोड ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै नगद ११ लाख रुपैयाँ हात पारेको झापा ११ फुटबल क्लबलाई गृहनगर बिर्तामोडमा भव्य सम्मान गरिएको छ। खेलाडीहरूको ऐतिहासिक सफलतालाई उच्च मूल्यांकन गर्दै स्थानीय तह, खेलकुदकर्मी तथा सरोकारवालाहरूले एक कार्यक्रमबीच टोलीलाई सम्मान गरेका हुन्।
चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलपछि झापा ११ ले उपाधि जित्दै नगद पुरस्कारसहित ट्रफी उचालेको थियो। विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, वन, पर्यटन तथा वातावरण मन्त्री भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला तथा विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए।
उक्त सफलतापछि बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा झापा ११ का संस्थापक अध्यक्ष जलकुमार गुरुङसहित विभिन्न खेलकुद व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंगदेन, बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष किशोर पौडेल, वडा नं. ६ का अध्यक्ष सूर्य कन्दङ्बा, वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङ तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले खेलाडीहरूलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले झापा ११ को सफलता समग्र जिल्लाको गौरव भएको बताए। उनले खेलकुद क्षेत्रले युवालाई अनुशासित, मेहनती र लक्ष्यप्रति केन्द्रित बनाउने उल्लेख गर्दै स्थानीय तहले खेलकुद पूर्वाधार विकासमा निरन्तर लगानी बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे। “झापा ११ को जितले यहाँका युवामा थप उत्साह थपेको छ, यसले अझ ठूलो उपलब्धिका लागि प्रेरित गर्नेछ,” उनले भने।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले झापाली खेलकुदको इतिहास राष्ट्रिय सीमाभन्दा बाहिरसमेत चिनिन थालेको उल्लेख गरे। उनले पछिल्लो समय झापाबाट उत्पादन भएका खेलाडीहरूले देशभर उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको पहिचान स्थापित गरेको बताए। “झापाको खेलकुद अब नेपालमै मात्र सीमित छैन, अन्तर्राष्ट्रिय स्तरमा समेत हाम्रो पहिचान बनिरहेको छ,” उनले भने।
त्यस्तै, झापा ११ का अध्यक्ष जलकुमार गुरुङले क्लबको यो सफलता सामूहिक मेहनत, अनुशासन र निरन्तर अभ्यासको परिणाम भएको बताए। उनले खेलाडी, प्रशिक्षक, समर्थक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। “हामीले यो जितलाई अन्तिम उपलब्धि होइन, अझ अगाडि बढ्ने आधारका रूपमा लिएका छौं,” गुरुङले भने।
कार्यक्रममा वक्ताहरूले झापाको खेलकुद विकासमा बिर्तामोडका युवाहरूको भूमिका महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल हुने विश्वास व्यक्त गरेका थिए। खेलकुदले समाजमा सकारात्मक ऊर्जा, अनुशासन र सहकार्यको भावना विकास गर्ने भएकाले यस क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको उनीहरूको जोड थियो।
सम्मान कार्यक्रममा खेलाडीहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। स्थानीयवासी तथा समर्थकहरूको उल्लेख्य सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *