राजकुमार ओली ६ जेठ बिर्तामोड।।(पूर्व खबर)बादी समुदायको चरित्र हत्या हुनेगरी कथावस्तु प्रस्तुत गरिएको आरोपसहित चलचित्र ‘लालीबजार’विरुद्ध विरोध चर्किएको छ । समुदायका प्रतिनिधि तथा अधिकारकर्मीहरूले चलचित्रमाथि प्रतिबन्ध लगाउन माग गर्दै प्रदर्शन गरेका छन् भने चलचित्र निर्माण पक्षले आफूहरूको उद्देश्य कुनै समुदायको अपमान गर्नु नभएको स्पष्ट पारेको छ ।
लालीबजार को प्रचारप्रसारका लागि अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक प्रदिप भट्टराई सहितको टोली झापाको बिर्तामोड पुगेको थियो । सो क्रममा चलचित्रलाई लिएर समर्थन र विरोध दुवै प्रतिक्रिया सार्वजनिक भएका छन् ।
बिर्तामोडस्थित क्यूएफएक्स हलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमअघि सञ्चारकर्मीहरूसँग समन्वयको विषयमा असन्तुष्टि देखिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ का सदस्य राजकुमार ओली, चलचित्र पत्रकार संघ कोशीका उपाध्यक्ष रमेश तिवारी तथा झापा अध्यक्ष एकराज प्रधानलगायतले आपत्ति जनाएका थिए । त्यसपछि निर्देशक भट्टराईले हलमै माफी मागेपछि कार्यक्रम सुरु गरिएको थियो ।
यसैबीच बादी समुदायका प्रतिनिधिहरूले “बादी समुदायको सम्मान कायम गर”, “लालीबजार चलचित्र बन्द गर” लगायतका नारासहित प्रदर्शन गरेका थिए । उनीहरूले चलचित्रमा प्रयोग गरिएका दृश्य र संवादले बादी समुदायलाई नकारात्मक रूपमा चित्रण गरेको आरोप लगाएका छन् ।
प्रदर्शनकारीहरूको भनाइमा चलचित्रले बादी समुदायलाई अझै पनि यौन व्यवसायसँग जोडिएको रूपमा प्रस्तुत गर्न खोजेको सन्देश बाहिर गएको छ । समुदायका अगुवाहरूले विगतमा रहेको कुप्रथालाई अहिलेको पुस्तासँग पुनः जोडेर देखाइनुले नयाँ पुस्तामाथि अन्याय भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रले समाजका विभिन्न यथार्थ पक्षलाई देखाउने प्रयास गरेको बताइन् । उनले आफूले बादी समुदायप्रति सम्मानको भावना राखेर नै अभिनय गरेको स्पष्ट पारिन् ।
“हामीले राम्रो र उत्कृष्ट चलचित्र बनाउने प्रयास गरेका हौँ,” अभिनेत्री खड्काले भनिन्, “कुनै समुदायलाई होच्याउने वा अपमान गर्ने उद्देश्य छैन । बादी समुदायप्रति सम्मानकै भावनाका साथ मैले यो फिल्ममा काम गरेकी हुँ ।”
निर्देशक प्रदिप भट्टराईले पनि चलचित्रमाथि उठेका प्रश्नप्रति आफू जानकार रहेको बताउँदै चलचित्रलाई कलात्मक सिर्जनाका रूपमा बुझ्न आग्रह गरे ।
“फिल्म एउटा सिर्जना हो, सबैले फरक ढङ्गले बुझ्न सक्छन्,” निर्देशक भट्टराईले भने, “एउटा मुद्दा दर्ता हुँदैमा चलचित्र रोकिने अवस्था हुँदैन । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको छ र हामीले उत्कृष्ट काम गर्ने प्रयास गरेका छौँ ।”
उनले चलचित्रको मूल उद्देश्य समाजका लुकेका कथाहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्नु रहेको बताए ।
उता, चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै मनोविद् सरस्वती मिश्र ले चलचित्रमा आत्महत्यासँग जोडिएका दृश्य तथा बादी समुदायलाई यौनसँग जोडेर प्रस्तुत गरिएको विषयलाई संवेदनशील रूपमा लिनुपर्ने बताइन् ।
उनले विशेषगरी युवा पुस्तामाथि त्यसको मनोवैज्ञानिक असर पर्नसक्ने चिन्ता व्यक्त गरिन् ।
“चलचित्रको कथा आफैँमा राम्रो हुन सक्छ,” मिश्रले भनिन्, “तर आत्महत्यासँग जोडिएको भिडियो र बादी समुदायलाई यौन व्यवसायसँग जोडेर प्रस्तुत गरिएको विषयले नयाँ पुस्ताका युवाहरूमा नकारात्मक असर पार्न सक्छ ।”
उनका अनुसार समाज परिवर्तन भइसकेको अवस्थामा विगतका सामाजिक विकृतिलाई पुनः उचालेर प्रस्तुत गर्दा समुदायका युवाहरूमा हीनताबोध र सामाजिक असुरक्षा बढ्नसक्छ ।
मिश्रले चलचित्र निर्माण गर्दा समुदायको सामाजिक अवस्था, सांस्कृतिक संवेदनशीलता र मनोवैज्ञानिक प्रभावबारे गम्भीर अध्ययन आवश्यक हुने बताइन् ।
बादी समुदायका अधिकारकर्मीहरूले अहिलेको पुस्ता शिक्षा, व्यवसाय र सामाजिक रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा पुरानो छविलाई पुनर्जीवित गर्ने प्रयास गलत भएको बताएका छन् ।
उनीहरूका अनुसार चलचित्रले समुदायका बालबालिका तथा युवाहरूलाई समाजमा थप विभेद र अपमानको सामना गर्न बाध्य बनाउन सक्ने खतरा रहेको छ ।
यद्यपि केही दर्शकहरूले भने चलचित्रलाई कलात्मक दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार चलचित्रले उठाएको विषय सामाजिक यथार्थसँग जोडिएको भए पनि त्यसको प्रस्तुतिशैलीका कारण विवाद सिर्जना भएको हो ।
बिर्तामोडमा सुरु भएको विवाद अहिले सामाजिक सञ्जालदेखि अधिकारवादी समूहसम्म फैलिएको छ । चलचित्रलाई लिएर समर्थन र विरोधका धारणा तीव्र बनेका छन् ।
यसबीच बादी समुदायका अगुवाहरूले चलचित्रमाथि पुनरावलोकन गरी समुदायको आत्मसम्मानमा चोट पुग्ने दृश्य हटाउन माग गरेका छन् । उनीहरूले सामाजिक रूपमा संवेदनशील विषय प्रस्तुत गर्दा सम्बन्धित समुदायसँग परामर्श र सहमति आवश्यक हुने बताएका छन् ।
चलचित्र ‘लालीबजार’लाई लिएर बढेको विवादले अभिव्यक्ति स्वतन्त्रता, कलात्मक प्रस्तुति र समुदायको सामाजिक सम्मानबीच सन्तुलन कायम गर्ने विषयमा नयाँ बहससमेत सुरु गराएको छ ।



