cURL Error: 0 शिक्षा परीक्षामा उत्कृष्ट नतिजा दिलाउने बिर्तामोडका दुई शिक्षक सम्मानित - पूर्व खबर

शिक्षा परीक्षामा उत्कृष्ट नतिजा दिलाउने बिर्तामोडका दुई शिक्षक सम्मानित

राजकुमार ओली।,बिर्तामोड, जेठ २४ (पूर्व खबर) । बिर्तामोड नगरपालिकाले आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउन योगदान पुर्‍याउने दुई जना गणित शिक्षकलाई सम्मान गरेको छ।
नगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षाको नतिजाका आधारमा सामुदायिक तथा संस्थागत विद्यालयतर्फ उत्कृष्ट औसत सिकाइ उपलब्धि हासिल गराउन सफल शिक्षकलाई प्रशंसापत्रसहित सम्मान गरेको हो।
सम्मानित हुनेमा सामुदायिक विद्यालयतर्फ बिर्तामोड–२ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका गणित शिक्षक चुडामणी पौडेल तथा संस्थागत विद्यालयतर्फ बिर्तामोड–७ स्थित कञ्चन अंग्रेजी बोर्डिङ स्कूलका गणित शिक्षक सागर कोईराला रहेका छन्।
नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार आधारभूत शिक्षा परीक्षा–२०८२ मा साङ्गवेद संस्कृत माध्यमिक विद्यालयले औसत स्तरीकृत अंक ३.२५ प्राप्त गर्दै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेको थियो। त्यसैगरी कञ्चन अंग्रेजी बोर्डिङ स्कूलले ३.६२ औसत स्तरीकृत अंक प्राप्त गर्दै संस्थागत विद्यालयतर्फ उत्कृष्टता कायम गरेको थियो।
उक्त उपलब्धिमा गणित विषयको सिकाइ सुधार, विद्यार्थीको शैक्षिक उपलब्धि अभिवृद्धि तथा परीक्षाको समग्र नतिजा उकास्न खेलेको भूमिकाको कदर गर्दै नगरपालिकाले दुवै शिक्षकलाई सम्मान गरेको जनाएको छ।
‘शैक्षिक सत्र २०८३ को कार्ययोजना तथा प्रतिबद्धता हस्ताक्षर कार्यक्रम’का अवसरमा आयोजित समारोहमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला तथा शिक्षा शाखा प्रमुख भण्डारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा नगर प्रमुख प्रसाईले विद्यालय शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भूमिका निर्णायक हुने बताउनुभयो। उहाँले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गराउन समर्पित शिक्षकलाई प्रोत्साहन गर्न नगरपालिकाले नतिजामा आधारित सम्मान कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो।
“शिक्षाको गुणस्तर सुधार बिना समृद्ध समाज निर्माण सम्भव छैन,” उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षकलाई सम्मान गर्दा समग्र शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र उत्प्रेरणा सिर्जना हुन्छ।”
नगर उपप्रमुख संग्रौलाले स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको शैक्षिक अवस्था सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उत्कृष्ट शिक्षकलाई सार्वजनिक रूपमा सम्मान गर्दा अन्य शिक्षकसमेत थप जिम्मेवार र नतिजामुखी बन्न प्रेरित हुने उहाँको भनाइ थियो।
कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। सो अवसरमा आगामी शैक्षिक सत्रका लागि विद्यालयहरूको कार्ययोजना प्रस्तुत गरिएको थियो भने शैक्षिक सुधारका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो।
बिर्तामोड नगरपालिकाले पछिल्ला वर्षहरूमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिलाई विशेष प्राथमिकतामा राख्दै आएको छ। सिकाइ उपलब्धिको नियमित मूल्याङ्कन, विद्यालयको शैक्षिक प्रगतिको अनुगमन, शिक्षक क्षमता विकास तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिँदै आएको नगरपालिकाले जनाएको छ।
शिक्षा शाखाका अनुसार आधारभूत शिक्षा परीक्षाको नतिजालाई केवल अंकमा सीमित नराखी सिकाइको गुणस्तर मापन गर्ने आधारका रूपमा लिइएको छ। त्यसका आधारमा विद्यालय र शिक्षकलाई जिम्मेवार बनाउँदै शैक्षिक उपलब्धि सुधार गर्ने नीति अवलम्बन गरिएको छ।
नगरपालिकाले आगामी वर्षहरूमा पनि उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक, विद्यालय तथा विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसबाट विद्यालयमा स्वस्थ शैक्षिक प्रतिस्पर्धा बढ्नुका साथै समग्र शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *