झापा कारागारका नाइके शिवाकोटीलाई झुम्का सरुवा …झापा कारागारमा सुरक्षा खतरा

0
SHARES
62
VIEWS

बिर्तामोड — झापा कारागार आन्तरिक प्रशासनको कारबाहीमा परेका दुई जना कैदीबन्दीलाई सरुवा गरिएको छ । कारागारका नाइके लयप्रसाद शिवाकोटी र वार्ड प्रमुख कुमार भनिने पासाङ शेर्पालाई आइतबार सरुवा गरिएको हो ।

शिवाकोटीलाई सुनसरीको झुम्का कारागारमा तथा शेर्पालाई केन्द्रीय कारागार काठमाडौंमा सरुवा गरिएको झापा कारागारका प्रमुख मोहनलाल पनेरुले जानकारी दिए । कारागारभित्र रहेको कैदीबन्दीहरुको आन्तरिक प्रशासनबाट कारबाहीमा परेपछि शिवाकोटी र शेर्पामाथि सुरक्षा खतरा बढेको थियो । झापा कारागारका कैदीबन्दीहरुको समेत माग शिवाकोटी र शेर्पालाई सरुवा गर्नुपर्ने रहेकाले उनीहरुलाई तत्काल सरुवा गरेको पनेरुको भनाइ छ ।

कारागारभित्रको आन्तरिक प्रशासनले भाइ नाइके मनोज लावतीलाई सरुवा गर्न चलखेल गरेको आरोपमा शिवाकोटीलाई दुई दिनअघि तथा आन्तरिक सूचना चुहावट गरेको आरोपमा शेर्पालाई १५ दिनअघि कारबाही गरेको थियो । झापा कारागारभित्र कैदीबन्दीहरुबीच पक्ष विपक्षमा गुटबन्दी बढेको संकेत पाएको कारागार प्रशासनले गत शुक्रबार भाइ नाइके मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरेको थियो ।

कारागार प्रशासनले लावतीलाई बाहिर निकालेर सरुवाका लागि झुम्का लाने तयारी गर्दैगर्दा कैदीबन्दीहरु आन्दोलित बनेका थिए । उनीहरुले लावतीलाई सरुवा गर्न नहुने माग राख्दै कारागारभित्र आगजनी गर्नुका साथै ढुँगामुढा समेत गरेका थिए । कैदीबन्दीको आन्दोलनका कारण लावतीको सरुवा रोकिएको छ । लावतीको सरुवा रोकिएलगत्तै कैदीबन्दीहरुले कारागारका नाइके शिवाकोटीलाई शुक्रबार साँझ नै कारबाही गरेका थिए ।

कारबाहीमा परेका शिवाकोटीले आफ्नो सरुवा गरिदिन झापा कारागार प्रशासन समक्ष आग्रह गरेको थियो । उनको आग्रहअनुसार झुम्का कारागारमा सरुवा गरिएको पनेरुले बताए । शिवाकोटी कर्तव्य ज्यान मुद्दामा करिब ७ वर्षदेखि कैद भुक्तान गरिरहेका कैदी हुन् । केन्द्रीय कारागार सरुवा भएका शेर्पा लागूऔषधलगायत मुद्दामा ११ वर्षदेखि कैद भुक्तान गरिरहेका छन् । कैदीबन्दीबीच विवाद भएपछि झापा कारागारमा सुरक्षा खतरा बढेको छ ।

उक्त विषयमा गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागले निगरानी बढाएका छन् । सुरक्षा खतरा बढेको संकेत पाएको विभागको उच्चस्तरीय टोलीले डेढ महिनाअघि मात्र झापा कारागारको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कारागारमा सुरक्षा खतरा बढेको, सुरक्षा निगरानी बढाउनुपर्नेलगायतका सुझाव दिएको थियो । कैदीबन्दीहरु पक्ष विपक्षमा संगठित भएको तथा कारागारभित्रैबाट लागूऔषध समेतको कारोबार हुने गरेको लगायतका खतराहरु औंल्याइएका छन् ।ekantipurbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार