मेचीनगरमा १ अर्ब लगानीमा पाँचतारे दोस्रो होटल निर्माण हुने-३० प्रतिशत हरियाली क्षेत्र कायम गरेर संरचना निर्माण

0
SHARES
17
VIEWS

काँकरभिट्टा । झापाको मेचीनगरमा पाँचतारे दोस्रो होटल निर्माण हुने भएको छ । होटल रोयल रिक्रिएसन नेपालले झापाको मेचीनगर नगरपालिका–१४ स्थित पाथिभरा टोलमा १ अर्ब लगानीमा होटल बनाउन लागेको हो ।

यो होटल झापाको तेस्रो र मेचीनगरको दोस्रो पाँचतारे होटल बन्नेछ । कुल १ सय ५८ कोठा र ३ सय शय्या रहने पाँचतारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।
प्रतिवेदन अनुसार होटलमा विभिन्न स्तरका पाहुना कोठासहित ब्यांक्वेट हल, कन्फ्रेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टिम, साउना, मसाज, फिटनेस सेन्टर तथा स्विमिङ पुलजस्ता सुविधा रहने कम्पनीले जानकारी दिएको छ । यो झापाको तेस्रो पाँचतारे होटल हुनेछ ।

अहिले झापा मेचीनगरमा भेगास सिटी इन्टरटेन्मेन्ट प्रालिले चलाएको होटल मेची क्राउन पाँचतारे डिलक्स र बिर्तामोडमा होटल द किङ्सबेरी पाँचतारे होटल सञ्चालित छन् । नयाँ होटल खाली जग्गामा बन्न लागेको र यसले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र अन्य संवेदनशील वन क्षेत्रमा भने कुनै असर नगर्ने प्रतिवेदनमा उल्लेख छ ।
७ बिघा १ कठ्ठा जमिनमा बन्ने होटलले कुल ८ हजार २ सय २३ वर्गमिटर ‘ग्राउन्ड कभरेज’ गर्ने भएको छ । जुन कुल जग्गाको १७ प्रतिशत हो । ४३ प्रतिशत खुला क्षेत्र, १० प्रतिशत पार्किङ र ३० प्रतिशत हरियाली क्षेत्र कायम गरेर संरचना निर्माण गर्ने प्रस्ताव होटलले गरेको छ ।

होटल निर्माण अवधि तीन वर्ष हुने अनुमान छ । प्रस्तावित होटलको भवन सात तलाको हुनेछ । जसमध्ये तेस्रो तलाबाट पाहुना कोठा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ । होटललाई पाँचतारे डिलक्सका रूपमा सञ्चालन गर्ने उद्देश्य कम्पनीको छ । होटलहरूको वर्गीकरण २०७७ का मापदण्ड ध्यानमा राखेर होटल निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।
आयोजनाले निर्माण चरणमा दैनिक ६० जनालाई रोजगारी दिने र सञ्चालनका दौरान कुल १ सय २० जनालाई प्रत्यक्ष रोजगारी दिने बताइएको छ । होटलमा ३ सय दुई पाङ्गे र १ सय ७० चार पाङ्गे सवारीसाधन पार्किङ गर्न सकिने छ ।

नेपाल–भारत सीमाबाट ९ किलोमिटर दूरीमा अवस्थित यो होटलले भारतीय पर्यटक लक्षित गरी संरचना निर्माण गर्न लागेको जनाएको छ । यसबाहेक बंगलादेश र भुटानी पर्यटक समेत आकर्षित गर्ने लक्ष्य होटलको छ ।

प्रस्तावित होटल स्थलबाट इलामको कन्याम र श्रीअन्तु नजिक रहेका कारण आन्तरिक पर्यटक समेत होटलका मुख्य पाहुना हुने कम्पनीको भनाइ छ ।

विवाह, इन्गेजमेन्ट, सभा–सम्मेलन जस्ता गतिविधिका लागि भारतीय पाहुना आकर्षण गर्न सम्भव रहेको कम्पनीले जनाएको छ । यसले स्थानीयमा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै उनीहरूको जीवनस्तर उकास्न समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । अनलाइन खवरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार