नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।
यसैबीच पार्टी बैठकमा पार्टी अध्यक्ष श्रीमती रञ्जिता चौधरी पक्षधरका नेताहरूलाई श्रीमान रेशम चौधरी पक्षधरले कुटपिट गरेका छन् । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच कुटाकुट भएको हो ।
विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको हो। उहाँहरू दुवैजना रन्जिता पक्षका हुनुहुन्छ । उहाँहरूबीच कुटाकुट भएको वरपर घरकाले पनि देखेका थिए ।
नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा हुनुहुन्छ भने रेशम जान नहुने पक्षमा हुनुहुन्छ । डगौराले रेशम चौधरीको उपस्थितिमा नै आफूमाथि कुटपिट भएको बताउनुभएको छ ।
निर्वाचन आयोगले रेशम चौधरीलाई पार्टी अध्यक्षको मान्यता नदिएपछि नाउपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको हो ।dainiknepal