ओलीको समर्थनमा प्रधानमन्त्री बन्न प्रचण्ड अन्तिम कसरतमा… सत्ता राजनीतिको लिगलिगे दौड सुरु

0
SHARES
14
VIEWS

नयाँ संसद्को समीकरण पूर्ण भएसँगै सत्ता राजनीतिको लिगलिगे दौड सुरु भएको छ । भावी सरकारको नेतृत्व कसले गर्ने भन्ने अहम् प्रश्न चाहिँ सुल्झिसकेको छैन ।

प्रधानमन्त्री बन्ने दौडमा कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै अगाडि छन् । तर प्रमुख सत्ता साझेदार दल नेकपा माओवादीले उनलाई ग्रीन सिग्नल दिएको छैन । बरु माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ प्रधानमन्त्री बन्ने दाउमा छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब आफूले पालो पाउनुपर्ने उनको दाबी छ ।

चुनावअघिको आलोपालो सहमति अनुसार देउवा आगामी सरकारको नेतृत्व प्रचण्डलाई दिन लचक पनि छन् । तर, संस्थापन इतर पक्ष प्रचण्डलाई नेतृत्व छाड्न राजी देखिएको छैन । पार्टीभित्र महामन्त्री गगन थापा संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छन् । अहिले महामन्त्री थापालाई देउवाले पनि कम आँकेका छैनन् । अंकगणितमा देउवा हाबी हुने भए पनि युवा नेताहरूमा गगनले नयाँ ह्वीम ल्याइदिन सक्ने चिन्ता उनलाई छ ।

पार्टीभित्र दबाबमा परेका देउवालाई गठबन्धनमा सामेल दोस्रो ठुलो दल माओवादीका अध्यक्ष प्रचण्डले समेत तनाव दिँदै छन् । प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपा, सिके राउत नेतृत्वको जनमत पार्टीसहित स्वतन्त्र उम्मेदवार प्रभु शाह र किरण साहसमेत आफूसँग रहेको देखाएर दबाब बढाइरहेको स्रोत बताउँछ ।

रणनीतिक मूभ चालेका प्रचण्डले राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको दाबी गर्दै आइरहेका छन् । प्रचण्डले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेकोसमेत सार्वजनिक रूपमै बताउँदै आइरहेका छन् ।

बुधवार आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘तपाईँको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’

यो पनि पढ्नुहोस्: गठबन्धनभित्रै सामूहिक सौदाबाजीको लागि ‘प्रचण्ड मोर्चा’, प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने घुर्की

कांग्रेसबाट नेतृत्व लिनका लागि आफूसँग ६० सांसदको बल रहेको उनको भनाइ छ ।

आइतबार प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग छ । माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो, जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।’

उनले गठबन्धनमा सरकारको नेतृत्वको विषयमा आलोपालो हुने प्रष्ट पारे ।

‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ । ६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिन्छौँ, सरकार त्यहीँ बन्छ,’ प्रचण्डको भनाइ थियो ।

६० सांसदको पाउलान् साथ ?

चुनावअघि नै प्रचण्डले समाजवादी केन्द्र गठन गरेर गठबन्धनबाट आधा सीट दाबी गर्ने रणनीति बनाएका थिए । नेकपा एस, जसपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेटेर प्रचण्डले आफूलाई निर्णायक शक्तिमा राख्न खोजेका थिए । तर, त्यो प्रयास चुनावअघि सम्भव हुन सकेन ।

तर, चुनावबाट अपेक्षाअनुसारको सीट नपाएपछि प्रचण्डले फेरि आफूलाई शक्तिमा कायमै राख्ने प्रयास गरिरहेका छन् । पहिलाको झैँ माओवादी तेस्रो शक्ति कायमै रहे पनि सरकार गठनको लागि एक मात्रै शक्तिको रूपमा स्थापित भइराख्न सकेन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले पनि उल्लेख्य सीट ल्याएपछि माओवादीलाई केही हदसम्म धक्का लागेको छ । तर, प्रचण्डले आफ्नो निर्णायक शक्ति स्थापित गरिराख्न सीट बाँडफाँटमा असन्तुष्टि जनाएर गठबन्धनबाट बाहिरिएको जसपालाई पनि आफूसँग नजिक बनाएका छन् ।

जसपाले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेको भए पनि जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य टुंगिसकेको बताएका छन् । उपेन्द्र पनि प्रचण्ड मोर्चामा सहभागी हुन सकारात्मक छन् ।

प्रचण्डले आफ्नो ३२, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६ सीटसहित केही स्वतन्त्र सांसदको पनि साथ पाउने विश्वास राखेका छन् । करिब ६० सीटसहित आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर प्रचण्डले ८९ सीट जितेको कांग्रेसमाथि नेतृत्वको दाबी गर्ने तयारी गरेका हुन् । प्रचण्डले कांग्रेसबाट प्रधानमन्त्री नपाए एमालेसँग सहकार्य हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । एमालेले ७८, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १÷१ सीट जिते भने ५ स्वतन्त्र सांसद बनेका छन् ।

आलोपालो हुँदा अहिले प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक भएको नेता मातृका यादव बताउँछन् ।

उनले भने, ‘उहाँले गठबन्धनको निर्माण गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुभएको छ । अब उहाँ (प्रचण्ड)ले प्रधानमन्त्रीकोे दाबी गर्नु स्वभाविक हो । त्यो सम्भावना पनि छ ।’

माओवादीका अर्का नेताले अब बन्ने गठबन्धन सरकारको नेतृत्व प्रचण्डले नै गर्ने दाबी गरे ।

ती नेताले भने, ‘हामीले २३ सीटको कांग्रेसलाई अहिले सरकारमा लगेर पहिलो पार्टी बनाएका छौँ । हाम्रो सोचेजस्तो परिणाम नआए पनि प्रचण्ड कमरेड नै प्रधानमन्त्री बन्नुहुन्छ ।’

प्रचण्डलाई नेकपा एस, जसपा, जनमतसहित स्वतन्त्र जितेका केही सांसदलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सहयोग गर्ने ती नेताले दाबी गरे ।

तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने गठबन्धनमा नेतृत्वको विषयमा छलफल नै नभएको बताउँछन् ।

‘गठबन्धन सरकार बन्ने भए पनि टुंगिएको छैन । अब संसदीय दलको नेता चयनपछि नेतृत्वको बारेमा छलफल होला,’ उनले भने ।

गठबन्धनबाट चुनावमा गएपछि राजनीतिक रूपमा प्रचण्डले प्रधानमन्त्री दाबी गर्नु स्वभाविक भएको माओवादी नेता राजेन्द्र बस्नेत बताउँछन् ।

उनी भन्छन्, ‘कांग्रेस पहिलो पार्टी भएपछि उसले नेतृत्वको दाबी गर्नु स्वभाविक हो । तर, राजनीतिक रूपमा अहिले प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भन्ने हाम्रो दाबी हो ।’

उनले एमालेसँग मिलेर सरकार गठन गर्ने भन्ने कुरामा अनौपचारिक छलफल भएको चर्चा भए पनि त्यसले मूर्तरूप नपाएको बताए ।

गठबन्धनको सरकार बन्ने भएपनि नेतृत्वको विषयमा अहिलेसम्म औपचारिक रूपमा छलफल नभएको नेकपा एसका नेता प्रकाश ज्वाला बताउँछन् ।

उनी भन्छन्, ‘गठबन्धनमा रहेका दलका नेताहरूले विभिन्न माध्यमबाट प्रधानमन्त्रीको दाबी गरिराख्नुभएको छ । गठबन्धनको सरकार बनेपछि पावर सेयरिङको विषय उठ्नु स्वभाविक हो । तर, अहिलेसम्म औपचारिक रूपमा नेतृत्वको विषयमा प्रवेश भएजस्तो मलाई लाग्दैन ।’

एमालेसँग पनि संवाद

माओवादीले गठबन्धनकै सरकार गठन गर्ने बताउँदै आइरहे पनि एमालेसँग पनि छलफल गरिरहेको छ । एमाले र माओवादीका नेताहरूबिच विभिन्न कोणबाट सरकार गठनको बारेमा छलफल भइरहेको छ ।

एमालेले माओवादीलाई गठबन्धन बाहिर ल्याएर आफूसँग सत्ता सहकार्य गराउन खोजेको छ । तर, ०७४ मा ओलीले आलोपालो सहमतिमा इमान्दारिता नदेखाएपछि माओवादी त्यसबारे सचेत छ । एमालेले माओवादीलाई गठबन्धनबाट बाहिर ल्याउनका लागि पहिलो कार्यकाल प्रधानमन्त्री दिने आश्वासन पठाएको स्रोतको दाबी छ ।

दोस्रो तहका नेताहरूबिच संवाद भइरहेको बेलामा मङ्गलवार साँझ ओलीलाई भेट्न माओवादीका महासचिव देव गुरुङ बालकोट पुगे । तर, उनी ओलीसँग सरकार गठनको विषयमा छलफल नभएको बताउँछन् ।

गुरुङ भन्छन्, ‘उहाँ विजयी हुनुभएको छ । उहाँलाई बधाई दिन मात्रै गएको हुँ । सरकार गठनको विषयमा छलफल भएको छैन । बाहिर हल्ला धेरै हुन्छ ।’

प्रचण्डले एमालेलाई देखाएर कांग्रेससँग आधा कार्यकाल प्रधानमन्त्री लिन खोजेको कतिपयको बुझाइ छ । गठबन्धन छाडेर आए माओवादीसँग पुनः सहकार्य गर्न एमाले हौसिएको छ । तर प्रचण्ड भने गठबन्धनबाटै पहिलो कार्यकाल सरकारको नेतृत्व पाउनेमा विश्वस्त छन् । कांग्रेसभित्र प्रधानमन्त्रीको विषयमा हानथाप भइरहेको बेलामा देउवाले पहिलो कार्यकाल आफूलाई दिने प्रचण्डको विश्वास छ । तर, त्यो सहज छैन nepalpressbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार