हर्क को हर्कतमा धरान अन्यौल बन्दै

0
SHARES
9
VIEWS

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएपछि कार्यपालिकाका हरेक बैठक ‘लाइभ’ हुँदै आएको छ।
बैठकस्थलमा पत्रकारहरू उपस्थित भएर प्रत्यक्ष प्रसारण गर्ने वातावरण धरानमा मिलाइएको छ। यसरी प्रत्यक्ष प्रसारण हुने भएकै कारण कार्यपालिका बैठकका भिडिओहरू सहजै उपलब्ध पनि छन्।
तिनैमध्येको एउटा भिडिओको कुरा गरौं। तीन महिनाअघि असोज १३ गते उपमहानगरको कार्यपालिका बैठक चलिरहेको थियो। बैठकको एजेन्डामाथि कार्यपालिका सदस्यहरू आ-आफ्नो धारणा राखिरहेका थिए। त्यसदिन धरानका विभिन्न एजेन्डासँगै स्थानीय पार्कबारे कुरा उठिरहेका थिए।
बैठकमा कार्यपालिका सदस्य अनुप देवान धरानका दुई वटा पार्कबारे आफ्नो राय राख्न उठे। उनले आफ्नो कुरा पूरा राखिनसक्दै मेयर साम्पाङले उनलाई रोक्न खोजे। ‘तपाईं बस्नुस्, तपाईंको कुरा बुझियो’, भिडिओमा हर्कले भनेका छन्।
‘मैले मेरो पूरा कुरा राखिसकेको छैन, पहिले मेरो पूरा कुरा सुन्नुपर्छ मेयर सा’ब’, अनुपले यत्ति भन्न पनि राम्ररी पाइसकेका थिएनन्, मेयरले आदेशात्मक शैलीमा भनिदिए, ‘त्यसो भए तपाईं बाहिर जानुस्।’
बैठकका अन्य सहभागीहरूले मेयरले कार्यपालिका सदस्यको अपमान गरेको, कुरै सुन्न नमानेको भन्दै हो-हल्ला गर्न थाले। उपप्रमुख अइन्द्र बेघाले थुम्थुम्याउन खोज्दा खोज्दै बैठक पूरै भाँडियो।
Esewanic
कार्यपालिकाका अन्य सदस्यले मेयरले माफी माग्नु पर्ने वा आफ्नो गलत अभिव्यक्ति सच्याउनु पर्ने माग गरे। त्यसो नभएसम्म कार्यपालिका बैठकमा सहभागी नहुने अडान लिए।
साम्पाङ पनि के कम! सार्वजनिक रूपमै घोषणा गरिदिए- मलाई सार्वभौम धराने जनताले जिताएर पठाएका हुन्। तोक आदेशकै भरमा नगर चलाइदिन्छु। मैले के गरेको छु र माफी माग्नु?
सामाजिक सन्जाल फेसबुकमा हरदम सक्रिय रहने उनले बारम्बार आफूलाई असहयोग गर्नेहरू ‘दलाल, भ्रष्ट र झोले’ भएको लेख्दै आएका छन्।
त्यसपछिका दिनमा धरानमा उनले भनेजस्तै भएको छ। तीन महिनायता कार्यपालिका बैठक बस्नै सकेको छैन। मेयरले जे गरिरहेका छन्, सबै आफूखुसी अर्थात् तोकआदेशकै भरमा गरिरहेका छन्।
धरानमा साबुन फ्याक्ट्री बनाउने कुरामा होस् अथवा उपभोक्ता समिति निर्माणमा रोक लगाउँदा होस्, उनले एकल निर्णय लिएर अघि बढेका छन्। तीन महिनादेखि अवरूद्ध कार्यपालिका बैठक सुचारू गर्नुभन्दा उल्टै कार्यपालिकाका सबैको राजीनामा माग्दै मेयर साम्पाङ अघि बढ्न खोज्दैछन्। उनले आफूबाहेकका सबै जनप्रतिनिधि स्वेच्छाचारी बनेको आरोप लगाइरहेका छन्।
अर्को एउटा घटना हेरौं, यो पनि भिडिओमै उपलब्ध छ।
केही दिनअघि जग्गाको समस्या लिएर मेयरलाई भेट्न पुगेका सर्वसाधारण र उनीबीच लामो विवाद भयो। सर्वसाधारणले आफ्ना कुरा लिखित रूपमा बुझाएपछि मेयरलाई थप कुरा राख्न खोज्छन्।
‘सबै कुरा लेखेर दिएपछि तपाईंको कुरा किन सुन्नु? अब तपाईंहरू जानुस्’ भन्दै साम्पाङ उल्टै झोंक्किन्छन्।
धरान-८ मा निर्माण भइरहेको बसपार्कसहितको तीनकुने सुन्दर बस्ती विकास आयोजना पीडितहरू उनलाई भेट्न आएका हुन्छन्। बसपार्क क्षेत्रमा रहेको घर भत्किने भएपछि स्थानीय मणिकुमार राई मेयरसामु भन्छन्, ‘हाम्रो त उठिबास हुने भयो। मेयर सा’ब। के गर्ने हो?’
उनले यति भनिनसक्दै मेयर झोंक्किएका थिए। उनलाई भेट्न जानेहरू हाम्रो कुरा सुन्दिनुस् भनेर अनुनय गर्छन्। मेयर सुन्दिनँ भन्दै अड्डी लिन्छन्। सर्वसाधारणले जसरी पनि हाम्रो कुरा सुनिदिनुपर्छ भन्दा सुरक्षाकर्मी बोलाएर उनले सर्वसाधारणलाई बाहिर निकाल्न लगाउँछन्।
मेयरले अपमानपूर्वक बाहिर निकालेपछि चुनावताका उनैलाई सघाएकाहरू पनि चिढिएका छन्।
‘उनलाई जिताउनुको अर्थ जे पायो त्यही बोल्नु र गर्नु भन्ने लाइसेन्स दिनु होइन,’ स्थानीय चुनावमा साम्पाङलाई सघाएको बताउने धरानकै युवा विमल श्रेष्ठले भने, ‘ज्यादै अराजक भएर निस्किए। यो शैली सच्याउनुपर्छ।’
श्रेष्ठको अपेक्षा साम्पाङले सबैलाई मिलाएर लैजाऊन् भन्ने छ।
‘हिजो अरूले एकलौटी गरे अब सबैलाई मिलाएर लैजाने मान्छे खोजेरै हामीले उनलाई रोजेका हौं’, उनले भने ‘तर, अस्ति कार्यकक्षमै भेट्न जाँदा उनले उल्टै हामीलाई हप्काए। त्यसपछि त झनै दिक्क लाग्यो।’
उनले थपे, ‘भन्ने बेलामा सार्वभौम धराने जनताको प्रतिनिधि हुँ भन्ने अनि पाइलैपिच्छे जनता हप्काउने? ढुंगा बोक्न नजाने जति सबैलाई थर्काउने उनको शैली आपत्तिजनक छ।’
एउटा अर्को भिडिओ पनि छ, जहाँ मेयर साम्पाङको अगुवाइमा निर्माण भइरहेको साबुन फ्याक्ट्रीको भवन निर्माणस्थलमा ठूलो भीड देखिन्छ।
धरान २० को जंगल क्षेत्रको जमिनमा अहिले ‘माया धराने’ नामक साबुन फ्याक्ट्री बन्ने क्रममा छ।
कोट पाइन्ट र ढाका टोपी लगाएका मेयर साम्पाङ त्यहीँ देखिन्छन्। त्यत्तिकैमा वन कार्यालयका केही कर्मचारी त्यहाँ आइपुग्छन्। वन कर्मचारीहरू हर्कका समर्थकद्वारा घेरिन्छन्। उनीहरूलाई यहाँ किन आएको भनेर र्‍याख्र्‍याख्ती पारेरै लखेटिन्छ।
‘अहिले यहाँ बन्न लागेको साबुन फ्याक्ट्री वनको जमिन हो। यो जमिनमा संरचना बनाउन वन कार्यालयमार्फत् निश्चित प्रक्रिया पूरा गनुपर्छ। हामी त्यही कुरा भन्न यहाँ आएका हौं,’ वनका कर्मचारीले यसो भनिसक्दा मेयर साम्पाङ आइपुग्छन् र भन्छन्, ‘तपाईंहरू यहाँ किन आउनुभएको? यो जग्गा वनको होइन, नगरले निर्णय गरेर फ्याक्ट्री बनाउन लागेको हो। लु जानुस् अब तपाईंहरू। जानुस्, जानुस्।’
उनले यसो भनेपछि वन कर्मचारी मौन हुन्छन्। मेयर साम्पाङ थप्छन्, ‘धरानभित्रको जग्गा नगरको हुन्छ। हामीले निर्णय गरिसकेपछि सकियो। यहाँ तपाईंहरूले बोल्ने कुरै छैन। जानुस् तपाईंहरू।’
त्यसपछि एकजना वन रक्षक अघि सर्छन् र भन्छन्, ‘हजुरहरूको निर्णय होला। तर, वन क्षेत्रको जग्गामा संरचना बनाउने कुराको प्रक्रिया पूरा गदिनुस् भन्ने आग्रह गर्न आएका हौं मेयर सा’ब हामी।’
‘त्यसो भए म एउटा प्रश्न गर्छु तपाईंलाई,’ भन्दै नजिकै बसेको बस्तीतिर औंल्याउँदै मेयर सोध्छन्, ‘त्यो बस्ती कसले बसाएको हो? यसको उत्तर खोजेर मात्रै मलाई भेट्न आउनु। नत्र नआउनु।’
जवाफमा वनरक्षक थप्छन्, ‘हामी सानो तहका कर्मचारीलाई यो कुरा के थाहा र मेयर सा’ब।’
त्यसपछि मेयर साम्पाङ भन्छन्, ‘त्यसो भए जनप्रतिनिधिसँग कुरा गर्न मन्त्रीलाई पठाउनू। कर्मचारीले जनप्रतिनिधिसँग के कुरा गर्नु!’
वरिपरि रहेका हर्कका समर्थकहरू हो मा हो मिलाएर हल्ला गर्छन्। वन कर्मचारी निरीह बनेर फर्कन्छन्।
यी त भए भिडिओमा उपलब्ध केही प्रतिनिधि घटना। पछिल्लो समय मेयर साम्पाङ सबैभन्दा धेरै आलोचित बनेको प्रसंग हो, जातीय अपमान हुने गरी उनले लेखेको फेसबुक स्टाटस।
मंसिर २७ गते राती ८:५५ बजे उनले चमार जातिको अपमान हुने गरी उनले एउटा स्टाटस लेखे, ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ। बल होइन, बुद्धि लगा चमारे बुद्धि लगा।’
जब उनले चमार जातिको नामै किटेर स्टाटस लेखे, उनको तीव्र आलोचना सुरू भयो। उनले क्षमायाचना गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा उच्च भयो।
दलित समुदायका अगुवाहरूले पनि आपत्ति जनाउँदै यो भनाइ सच्याउन माग गरे। हर्क भने टसमस भएनन्। उल्टै आफ्नो गलत अभिव्यक्तिको बचाउमा उत्रिए।
यसबारेको पहिलो स्टाटसमा जे लेखेर गल्ती गरे, त्यही अपमानजनक शब्द दोहोर्‍याउँदै उनले त्यसो भन्नु गलत नभएको अड्डी गर्न थाले। उनको अभिव्यक्ति अपमानजनक भएको भन्नेहरूलाई ‘सानो मनका मान्छे’ भन्दै उल्टै लान्छित गरे।
उनले फेसबुकमा लेखे, ‘आज अचम्म लाग्यो, कोही यति सानो मनको पनि हुँदा रहेछन्।’
उनी त्यतिमा रोकिएनन् र फेरि अर्को स्टाटस थपे, ‘गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द। त्यसमा आपत्ति मान्नुपर्ने केही छैन। आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्गित गरेको होइन। फूल बनेर हेरौं, काँडा बनेर होइन।’
उनको आलोचना झनै चुलियो। माफी माग्नुपर्ने मत झनै बलियो भयो। उनले आफ्नो स्टाटस सम्पादन गरेर चमार जातिको अपमान हुने शब्द हटाए।
तर, उही भावमा भने निरन्तर लेखिरहे। आफूले प्रयोग गरेको अपमानजनक शब्द राखेरै उनले फेसबुकमा सोधे, ‘चमारे भन्ने कुनै थर छ र? चमार भन्ने पो छ त होइन र? नहुने कुरा नगरौं है साथी हो!’
त्यसपछि त उनी दलित शब्द नै हटाउनु पर्ने भनेर लेख्न थाले।
‘मैले बोलेको कुरा दलित समुदायले आफूलाई भनेको जस्तो गरी लिनु हुँदैन है साथी हो। म त दलित भन्ने शब्द नै हटाउनुपर्छ भन्ने मान्छे। काँ यो शब्दलाई पालेर बस्नु भन्या,’ उनले फेसबुकमा लेखे।
उनी यतिमै रोकिनेवाला थिएनन्। दलित समुदायको अपमान हुने गरी स्टाटस लेखेका उनले त्यसपछि आलोचक जति सबैलाई ‘गुइँठे’ करार गरिदिए। आफ्नो विरोध नगरी भात नरूच्नेहरू, आफूले खोक्दा पनि भूकम्प जानेरहेछ भन्ने आसयका धेरै वटा स्टाटस लेखे।
चौतर्फी विरोध भएपछि उनकै कार्यपालिकामा रहेका तीन जना दलित सदस्यहरूले उनलाई लिखित रूपमै ध्यानाकर्षण गराए। क्षमायाचना गर्न माग गरे।
उनलाई यो माग लिएर भेट्न गएकाहरूलाई उनले उल्टै सोधे, ‘म झुक्दै नझुक्ने नेपालको छोरो भन्ने गीत सुन्नुभएको छ नि? हो, त्यो मान्छे मै हुँ।’
चारैतिरबाट क्षमायाचनाको माग भइरहँदा पनि बेवास्ता गरिरहेका हर्कलाई अन्ततः राष्ट्रिय दलित आयोगले नै क्षमायाचना गर्न भन्यो। कारबाहीको माग गर्‍यो। त्यसपछि उनी दलित आयोगविरूद्ध पनि खनिन थाले।
उनले आयोगकै पनि मानमर्दन हुने गरी लेखे- कुनै झ्यासझुस आयोग सायोगले मलाई जिताएको होइन। सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगर प्रमुख हुँ। उसको कारबाहीको माग त उस्स!’
हर्कले अरू पनि स्टाटस दलित आयोगविरूद्ध लेखिरहे। उनी अर्को स्टाटसमा लेख्छन्, ‘मैले १० चोटी कुनै जाति विशेषलाई लक्षित गरेर लेखेको होइन भन्दा मनन नगर्ने राष्ट्रिय दलित आयोगको फोहोरी राजनीति गरेर समाज भाँड्ने नियत देखिन्छ। यो आयोगविरूद्ध सम्पूर्ण समानता चाहने न्यायप्रेमी नेपालीहरूलाई एकजुट बनी उत्रन पर्ने बेला आएको छ। जबसम्म यस्ता तत्व समाजमा रहन्छ तबसम्म विभेद र द्वन्द्व रहन्छ।’
उनले क्षमायाचना गर्ने छाँट नदेखाएपछि धरानकै दलित अगुवाहरूले अदालत जाने तयारी थालेका थिए। धरानस्थित मुख्य ६ राजनीतिक दलका नगर समितिहरूले पनि आइतबार संयुक्त विज्ञप्ति निकालेर हर्कको गतिविधिको कडा शब्दमा आलोचना गरे।
एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले संयुक्त विज्ञप्ति जारी गर्दै साम्पाङलाई अराजक नबन्न भने।
सर्वत्रबाट दबाब उत्पन्न भएपछि आइतबार दिउँसो भने हर्क क्षमायाचना गर्न बाध्य भए। विज्ञप्ति निकालेर उनले ‘ठट्यौली उखानको शैलीमा चमारे शब्दको प्रयोग गर्दा दलित समुदायलाई दुःख लागेको’ बताउँदै क्षमा मागेका हुन्।
‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ। त्यसका लागि क्षमाप्रार्थी छु,’ उनले भनेका छन्।
आफ्नै शैली, बोली र लेखाइका कारण यसरी निरन्तर विवादको घेरामा पर्दै आएका हर्कप्रति दलहरू त सधैं आलोचनात्मक नै रहँदै आएकै हुन्। तर उनलाई समर्थन गर्दै आएकाहरू पनि पछिल्ला दिनहरूमा चिढिएका छन्।
हर्क जिम्मेवारीमा आएपछि बिरूवा रोप्ने, खोलाबाट पानीको स्रोत थप्ने काममा श्रमदान जुटाउन सफल बने। तर, त्यही आधारमा सहभागी हुन नआएकाहरूलाई ‘अल्छे’ करार गरिएकोमा पनि धेरैको आक्रोश छ।
चुनाव जितेपछि हर्कले जाहेर गरेको प्रतिवद्धता नै सूचनाको हकको सम्मान गर्ने भन्ने थियो। तर, निर्वाचित भएको केही समय नबित्दै हर्कले सूचना दिने, कुरा सुन्ने र संवाद गर्ने त परैको कुरा जनप्रतिनिधिलाई समेत बैठकमा बोल्न रोक लगाए। कुरा सुन्दिन आग्रह गर्ने नागरिकलाई बारम्बार हप्काए। जनप्रतिनिधिलाई हप्काएको र अपमान गरेको प्रकरणमा उनले माफी नमाग्दा कार्यपालिका बैठक तीन महिनादेखि अवरूद्ध नै छ।
तीन दिनअघि आयोजना भएको बैठक वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बहिष्कार मात्रै गरेनन्, सबै वडाध्यक्षहरूले संयुक्त विज्ञप्ति निकालेर साम्पाङको विरोध गरे। लगत्तै भोलिपल्ट पत्रकार सम्मेलन गरेर हर्कले पनि कार्यपालिका सदस्यहरूलाई ‘आ-आफ्नो पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरिदिन’ माग गरे।
संवाद गर्नु र विवाद साम्य पार्ने प्रयत्न गर्नुको सट्टा हर्कले जनप्रतिनिधिहरूको राजीनामा नै मागेपछि धरानमा राजनीतिक द्वन्द्व झनै चर्किएको छ।
‘धरानमा नव हिटलरको उदय भएको हो जस्तै भइसक्यो’, धरान उपमहानगरका प्रवक्तासमेत रहेका १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईले भने, ‘उहाँ जसरी नै चुनिएर आएका जनप्रतिनिधिहरूको आत्मसम्मानमा चोट पुर्‍याउने, दलाल, झोले भन्ने कुरा जायज हो? मेरो नियत त्यो थिएन। यदि मेरो अभिव्यक्तिबाट कसैलाई चोट परेको भए सच्याउँछु मात्रै भन्दा हुँदैन? तर, उहाँ तोकका भरमा नगर चलाउँछु भन्नुहुन्छ। आफ्ना आलोचक जति सबै भ्रष्टाचारी भन्दै लेख्दै र बोल्दै हिँड्नुभएको छ। यो हिटलरी पारा भयो। यसरी धरान अघि बढ्न कसरी सक्छ?’
कार्यपालिका बैठक अवरूद्ध हुँदा नगरको दैनिक क्रियाकलापमै असर परेको प्रवक्ता भट्टराईको भनाइ छ।
‘दैनिक क्रियाकलापहरूमा असर परेको छ,’ उनले भने, ‘धरान डेको तयारी गर्नुपर्ने, विकास निर्माणको काम गर्नुपर्ने, नगरसभाको तयारी गर्नुपर्नेछ। उपभोक्ता समितिहरू बनाउने र निर्माणका कामहरू गर्नुछ। तर, मेयर साबको अड्डीले यी सबै काम रोकिएका छन्।’
पछिल्लो दश वर्षमा धरानमा हर्क साम्पाङले खानेपानीको समस्या र भ्रष्टाचारविरूद्ध मात्रै कुरा उठाएका थिएनन्। नागरिकको सूचनाको हकबारे पनि उनले कयौं पटक आन्दोलन गरेका थिए।
नगरपालिका होस् अथवा बिपी प्रतिष्ठानको गेट, उनलाई भित्र छिर्न नदिँदाका दृश्यहरू चुनावका बेला नै भाइरल भएका थिए। तर, अहिले हर्क त्यही व्यवहारले आलोचित बन्दैछन्, जुन व्यवहार हिजो उनले अरूबाट व्यहोरेका थिए।
‘ती त तपाईंहरूले भिडिओमा देखेका दृश्यहरू मात्रै हुन्, यसरी कर्मचारी थर्काउने, सर्वसाधारणलाई हप्कीदप्की गर्ने, जनप्रतिनिधिहरूलाई पनि उही शैलीमा थर्काउने अनि फेसबुकमा जथाभाबी लेख्ने त उहाँको छिनछिनको कामै हो,’ कार्यपालिका सदस्य अनुप देवानले भने, ‘यसरी मेयरले स्वेच्छाचारी प्रवृत्ति देखाउने र नगरको काम ठप्प हुँदै जाने हो भने नगर कसरी अघि बढ्छ?’
हर्क आफ्नै कार्यपालिका बैठकको निर्णयको पनि आफूखुसी व्याख्यामा लागेका छन्।
केही समयअघिको कार्यपालिका बैठकले धरान २० को खाली जग्गा रहेको क्षेत्रमा ‘औद्योगिक ग्राम बनाउन प्रक्रिया थाल्ने’ निर्णय गरेको थियो। प्रक्रिया थाल्ने भनेको वन क्षेत्रको जग्गा विधिसम्मत रूपमा नगरको स्वामित्वमा ल्याउने भनिएको थियो। मेयरले भने एक कदम अघि बढेर कुनै कार्यविधि र सञ्चालन विधि तय नगरी साबुन फ्याक्ट्री बनाउन थालेको अन्य जनप्रतिनिधिको आरोप छ।
प्रदेश र संघीय सरकारमार्फत् आउने योजनाहरूमा भ्रष्टाचार भएको भन्दै मेयरले उपभोक्ता समिति निर्माणमै रोक लगाएका छन्।
‘एकातिर प्रदेशबाट, संघबाट आएका साना योजनाहरूमा रोक लगाउने काम भएको छ,’ नगरका प्रवक्ता भट्टराईले भने, ‘अर्कातिर निर्णय नै नगरी साबुन फ्याक्ट्रीको काम थालिएको छ। सञ्चालन विधि के, लगानी कसरी गर्ने भन्ने कुरा नगरमा छलफल नै भएको छैन। उहाँ एकलकाँटे रूपमा लाग्नुभएको छ।’
त्यसो त मेयर साम्पाङले बिपी पार्क नजिकै नयाँ पार्क स्थापना गरेका छन्। श्रम संस्कृति पार्क नाम दिइएको पार्कमा उनले आफ्नै तस्बिर राख्न लगाएका छन्। हरेक काम गर्दा युट्युबरको लर्को लगाएर हिँड्ने मेयर साम्पाङले पार्कमा आफ्नो फोटो राख्न लगाउने तर सर्वसाधारणलाई हप्कीदप्की गर्ने काम ठीक नभएको जनप्रतिनिधिहरू बताउँछन्।
उनले सर्वसाधारणलाई गरेको हप्कीदप्कीकै कारण केही महिनाअघि उनको कार्यकक्षमा तोडफोडसमेत भएको थियो। बराह सहकारीमा पैसा जम्मा गरेर पीडित भएकाहरूले संघर्ष समिति बनाएर विभिन्न निकायका प्रमुखहरूलाई भेटिरहेका थिए। त्यही क्रममा उनीहरूले मेयरलाई पनि भेटे।
कुरा हुँदै जाँदा मेयरले झर्केर ‘तपाईंहरूले त्यो सहकारीमा मलाई सोधेर पैसा राखेको हो र ’ भनेपछि अवस्था यति उग्र बन्यो कि उनको कार्यकक्ष तोडफोड नै भयो। त्यसपछि दुई जनाविरूद्ध मेयरले मुद्दा नै दायर गरे।
उनका यी पछिल्ला सबै गतिविधिबारे सोध्नलाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउनै चाहेनन्। उनको निजी सचिवालयमा प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। उनले आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि आफ्ना गतिविधिको बचाउ नै गरे।
उनकै कार्यकक्षमा पत्रकार बोलाएपछि सञ्चारकर्मीलाई उनलाई सोधे, ‘ तपाईंलाई स्वेच्छाचारी भएको आरोप लागेको छ के भन्नुहुन्छ?
‘म होइन, उहाँहरू स्वेच्छाचारी बन्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले अब नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’
मेयरको यो अभिव्यक्ति गैरजिम्मेवार र समस्या झनै बढाउने ढंगले आएको प्रवक्ता भट्टराई तथा राजनीतिक दलहरूको भनाइ छ।
‘धरानको इतिहासकै जनप्रतिनिधिहरूबीच यो ढंगको विवाद थिएन। अन्यत्र पनि स्वतन्त्रले जितेका छन्। काम भइरहेको छ, यहाँचाहिँ किन यस्तो भएको छ कुरा प्रष्ट छैन र,’ भट्टराईले भने, ‘यसले एकातिर धरानलाई अनिर्णयको बन्दी जस्तो बनाएको छ। अर्कातिर मेयरले लेखे र बोलेको कुराले पनि अनेक समस्या ल्याइरहेको छ। उनले जति छिटो आत्मसमीक्षा गर्छन्, समाधान त्यति छिटो नजिकिनेछ।’ सेतोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार