एमालेबाट राष्ट्रपति र सभामुखमा को–को छन् आकांक्षी ?

0
SHARES
41
VIEWS

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेपछि राष्ट्रप्रमुख राष्ट्रपति र संसद्प्रमुख सभामुख (पहिलो आधा कार्यकाल) एमालेको भागमा परेको छ । यससँगै एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकांक्षीबारे चर्चा सुरु भएको हो ।

राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङको नाम अन्य नेताको भन्दा बढी चर्चामा छ । संविधानसभा अध्यक्ष, दुईपटक सभामुखसहित तीनपटक संसद् र संविधानसभाको नेतृत्व लिएका नेम्वाङ अघिल्लोपटक पनि राष्ट्रपतिकै लागि चर्चामा थिए ।

पार्टी विधानको उमेरहदले पार्टी र सरकारमा कार्यकारी भूमिकाको सम्भावना कम रहेकाले यसपटक उनी स्वयंले पनि राष्ट्रपतिमा रुचि राखेको निकटस्थ स्रोतले जनाएको छ । संसदीय मामिला र कानुनका अनुभवी, संविधान निर्माणमा भूमिका खेलेका र जनजाति पृष्ठभूमिका नेता नेम्वाङले सार्वजनिक रूपमा भने मुख खोलेका छैनन् ।

नेम्वाङले ती दुई जिम्मेवारी एमालेले पाउने प्रारम्भिक समझदारी भए पनि पार्टीभित्र कुनै छलफलै नभएकाले बाहिर बोल्नु उपयुक्त नहुने बताए । ‘त्यसमा सहमति भइसकेको छ, तर हामी अहिले त्यतातिर प्रवेश नै नगरेकाले बोल्न उपयुक्त हुँदैन,’ नेम्वाङले भने । उनले व्यक्तिगत रूपमा कुनै पदविशेषमा आग्रह वा रुचि नराखेको दाबी गर्दै आएका छन् ।

त्यस्तै, संसदीय राजनीतिबाट लगभग अवकाशमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली र संसदीय राजनीतिबाट अवकाशकै घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि राष्ट्रपतिको दाबेदारका रूपमा हेरिएको छ । ज्ञवाली उपाध्यक्षमध्ये सिनियर छन् । एकपटक मन्त्री बनेका उनले पार्टीभित्र अन्तर्संघर्षमा मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन् । तर, ज्ञवाली स्वयंले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

उता, छोटो समय बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्य भूमिगत कालदेखि नै कठोर संघर्ष गरेकी सिनियर नेतृभित्र पर्छिन् । नेतृत्वमा नयाँलाई अवसर दिनुपर्ने मान्यता सार्वजनिक गरेर संसदीय राजनीतिबाट अवकाश लिएकी शाक्यलाई राष्ट्रपति बनाएर फेरि पनि एमालेले महिला आन्दोलनलाई सम्मान गरेको सन्देश जाने मत पनि पार्टीभित्र उठ्न थालेको छ ।

त्यस्तै, सभामुखमा भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको नाम चर्चामा आएको छ । गण्डकी प्रदेशको नेतृत्व गर्दै सफल मुख्यमन्त्रीको छवि बनाएका गुरुङ एमालेभित्र स्पष्ट विचार र दृष्टिकोण प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन् । एमाले नेतृत्वमा गठबन्धन बन्नुपर्ने पक्षमा सक्रिय गुरुङलाई सभामुख नबनाएर सरकारमा मन्त्रीका रूपमा सहभागी गराउने सम्भावना पनि रहेको स्रोतले बताएको छ ।

उता, विश्वकर्मालाई एमालेभित्र लामो संघर्ष गरेका अनुभवी नेताका रूपमा लिने गरिन्छ । लुम्बिनी प्रदेशमा पार्टी संगठन मजबुत बनाएर लगातार निर्वाचन जित्दै आएका विश्वकर्मा दलित आन्दोलनको अगुवा नेताका रूपमा पनि चिनिन्छन् ।nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार