गहिरो मानसिक सङ्कटमा फस्दो छ किशोरावस्था

0
SHARES
5
VIEWS

सागर बुढाथोकी

पारिवारिक कलह, एक्लोपन, पढाइ र करिअर निर्माणको तनाव, प्रेमसम्बन्ध र यौनशोषणले गहिरो मानसिक सङ्कटमा फस्दो छ किशोरावस्था।

काठमाडौं, नयाँ बानेश्वरको पाठशाला स्कूलमा कक्षा ९ मा पढ्थे, १३ वर्षीया कृतिका जैसवाल र १४ वर्षीय अनिकेत राय। गत भदौ १५ मा उनीहरूले बुद्धनगरस्थित निर्माणाधीन घरबाट हाम फालेर आत्महत्या गरे। ब्यागमा भेटिएकोे ‘सुसाइड नोट’ मा लेखिएको थियो- परिवार प्रेममा बाधक बनिदियो, हामीले बाँच्ने उत्प्रेरणा गुमायौं।

केही दिनपछि पाठशालाकै अर्की १४ वर्षीया किशोरीले आत्महत्या प्रयास गरिन्। उनको विक्षिप्तताको कारण चाहिं पढाइ बिगारेको भन्दै बाबुआमाले गर्ने टोकसो रहेछ। साथी कृतिकाले आत्महत्या गरेपछि उनलाई पनि मर्नु नै समस्याबाट छुटकारा पाउनु हो भन्ने लागेछ। घटनापछि किशोरीलाई नयाँ बानेश्वरस्थित नेशनल इन्स्टिच्यूट अफ साइको-एजुकेशनल काउन्सिलिङ सेन्टर पुर्‍याइयो।

मनोविद् गंगा पाठकको क्लिनिकमा मासिक यस्ता तीन जनासम्म किशोरकिशोरी परामर्शका लागि लगिन्छन् जसले आत्महत्याको सोच बनाएका हुन्छन्। तीमध्ये कम्तीमा एक जनाले आत्महत्या प्रयास नै गरेका हुन्छन्। “अहिलेका किशोरकिशोरी अत्यन्तै विक्षिप्त मानसिकता लिएर बाँचिरहेछन्,” पाठक भन्छिन्, “तर अभिभावकलाई थाहै छैन।”

गत मंसीरमा उनीकहाँ लगिएका अन्य दुई किशोरीको मानसिक समस्याको कारण थियो, यौनशोषण। आमाबुबासँग ६ हजार रुपैयाँ मागेर घुम्न निस्किएकी १५ वर्षीया किशोरी राति काठमाडौंकै एउटा डाँडामा टेन्टमा साथीहरूसँग बसिन्। साथीसँग आएका तीन जनाले उनलाई त्यहीं यौनशोषण गरे। त्यस घटनापछि उनी स्कूल जान छाडिन्। घटनाबारे आफन्तलाई बताउन पनि सकिनन्। अन्ततः आत्महत्या प्रयास गरिन्।

“अहिलेका किशोरकिशोरी अत्यन्तै विक्षिप्त मानसिकता लिएर बाँचिरहेछन्, तर अभिभावकलाई थाहै छैन।”
मनोविद् पाठकले अभिभावकलाई छोरीले भोगेको घटना सुनाउँदा उनीहरू छाँगाबाट खसे झैं भए। “दर्जनौं अभिभावक यहाँ आएपछि छोरीले वर्षौंदेखि भोगेको शोषण थाहा पाएर स्तब्ध हुन्छन्,” उनी भन्छिन्। शोषण गर्नेमा अधिकांश शिक्षक, प्रेमी र आफन्त छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ५.३ प्रतिशत किशोरी र पाँच प्रतिशत किशोरमा मानसिक समस्या देखियो। समग्रमा मानसिक समस्याको दर ५.२ प्रतिशत रहेकोमा ०.६ प्रतिशतमा उदासीनता र ३.९ प्रतिशतमा आत्महत्याको सोचसम्म पाइयो। १६ र १७ वर्षका किशोरकिशोरीको आँकडा त अझ चिन्ताजनक छ। यो उमेर समूहका क्रमशः ७.७ र ६.६ प्रतिशतसम्मलाई मानसिक समस्या देखिएको सर्वेक्षणले औंल्याएको छ।

सबैभन्दा बढी समस्या प्रदेश १ मा ११.४ प्रतिशत छ। सर्वेक्षणमा १८ वर्षमाथिका ९२०० जना र १३-१७ वर्ष उमेर समूहका पाँच हजार ८८८ किशोरकिशोरी सहभागी थिए।

नेपाल प्रहरीका अनुसार, पाँच वर्षयता १८ वर्षमुनिका दुई हजार ८४८ किशोरकिशोरीले आत्महत्या गरेका छन्। तीमध्ये एक हजार १०६ जना किशोर र एक हजार ७४२ जना किशोरी छन्। आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै ७६० जनाले आत्महत्या गरेका छन्। आत्महत्याको सम्बन्ध मानसिक रोगसँग हुने चिकित्सकहरू औंल्याउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, ६० प्रतिशत वयस्क मानिस १४ वर्षको उमेरअघि नै देखिएको मानसिक रोग बोकिरहेका हुन्छन्। तर, समाजले नजरअन्दाज गर्दा यो समस्या भुसको आगो झैं सल्किरहेको छ। “मानसिक समस्या कलिलैमा हुने र त्यसले जीवनभर सताउँछ भनेर बुझाउन ढिलो भइसकेको छ,” कान्ति बाल अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. अरुणराज कुँवर भन्छन्।

कान्तिमै कार्यरत डा. ज्यास्मिन माले सन् २०१७ मा विद्यार्थीमा देखिने भावनात्मक र व्यावहारिक समस्याबारे सर्वेक्षण गरेकी थिइन्। चार हजार विद्यार्थीका अभिभावक र शिक्षकलाई एउटै प्रश्न सोधिएको सर्वेक्षण केलाउँदा अभिभावकले दिएको रिपोर्टमा ९१.१ र शिक्षकले दिएको रिपोर्टमा ५०.४ प्रतिशत विद्यार्थीमा समस्या पाइएको थियो। कुल बालबालिकामध्ये १० देखि २० प्रतिशतलाई कुनै न कुनै मानसिक र भावानात्मक समस्या हुने विश्वव्यापी मान्यतालाई उछिनेर उक्त सर्वेक्षणले अझ भयावह चित्र देखाएको छ। “यो तथ्याङ्कलाई सामान्य आक्नु हुन्न,” मा भन्छिन्, “अहिलेका किशोरकिशोरी कुन मनोदशामा बाँचिरहेछन् भन्ने आत्महत्या दर हेर्दै थाहा हुन्छ।”

तीन महीनाअघि मात्र डा. माकहाँ पुर्‍याइएकी १५ वर्षे किशोरी कडा खाले ‘एन्जाइटी’ ले ग्रस्त थिइन्। पहिले ठीकठाक रहेकी छोरी एक्कासि रिसाउने गरेको र स्कूल जान नमानेको बाबुआमाको गुनासो थियो। मनोपरामर्शका क्रममा पत्ता लाग्यो- प्रेमीले नग्न तस्वीर खिचेर किशोरीको यौनशोषण गरिरहेको रहेछ। कसैलाई बताउन नसकेकी उनी डरैडरमा बसिरहेकी थिइन्। “आँखैअघि रहेका सन्तान कति ठूलो सकसमा बाँचिरहेछन् भन्ने धेरै अभिभावकलाई थाहै छैन,” मा भन्छिन्। सामाजिक सञ्जालबाट प्रेममा पर्ने र त्यसकै कारण मानसिक क्षति बेहोर्ने किशोरकिशोरीको संख्या लगातार बढ्दो देखिन्छ।

एक्लो बालापन

मानसिक समस्यामा परेकाहरूलाई पेट, छाती र टाउको दुख्ने तथा सास फेर्न गाह्रो हुने जस्ता शुरूआती लक्षण देखिन्छन्। त्यसैले आफन्तले उनीहरूलाई शुरूमा फिजिसियनकहाँ पुर्‍याउँछन्। एमआरआई, सीटीस्क्यान जस्ता परीक्षणमा शारीरिक खोट नभेटिएपछि उनीहरूलाई मानसिक विभागमा प्रेषण गरिन्छ।

मनोचिकित्सक अनुज्ञा अमात्यका अनुसार, अहिलेका किशोरकिशोरीमा पढाइ र ‘करिअर’ प्रतिको पारिवारिक दबाब र डर तीव्र छ। “अधिक एन्जाइटीले देवीदेवता चढे जस्तो काम्ने, नभएको कुरा देख्ने र नभनेको आवाज सुन्ने जस्ता लक्षण बढेका छन्,” उनी भन्छिन्, “किशोरकिशोरीको मानसिक समस्यामा कुनै न कुनै प्रकारको डर नै मुख्य कारण हुन्छ।”

कम्तीमा दुई सन्तान भएका र संयुक्त परिवारमा बस्नेका तुलनामा एक मात्र सन्तान भएका, त्यसमा पनि एकल परिवारका छोराछोरीमा मानसिक समस्या बढी पाइएको छ।
पारिवारिक कलह मानसिक समस्याको अर्को कारण बनेको छ। उदाहरण- काठमाडौंकी १६ वर्षीया किशोरीका बुबाआमा दिनहुँ झगडा गर्थे। पियक्कड बाबुको परस्त्री सम्बन्ध समेत रहेको थाहा पाएपछि आमाले आत्महत्या गर्ने कुरा बताउन थालिन्। किशोरीलाई आफू एक्लो हुँदै गएको महसूस हुन थाल्यो। अन्ततः उनी आफैंले आत्महत्या प्रयास गरिन्।

बाबुआमाले छोरीलाई मनोविद् पाठककहाँ पुर्‍याएपछि मात्र आफूहरूको झगडाले उनी लामो समयदेखि डिप्रेशनमा रहेको चाल पाए। “परिवारको झगडासँगै स्कूलमा हुने बुलिङ, स्मार्टफोनको लत र आफन्तको दुर्व्यवहारले अहिलेको पुस्तालाई बर्बाद बनाएको छ,” उनी भन्छिन्।

कम्तीमा दुई सन्तान भएका र संयुक्त परिवारमा बस्नेका तुलनामा एक मात्र सन्तान भएका, त्यसमा पनि एकल परिवारका छोराछोरीमा मानसिक समस्या बढी पाइएको छ। एक्ला सन्तानले बालापनमा खेल्ने साथीसम्म पाउँदैनन्। किशोरावस्थामा पुगेपछि पनि बाबुआमाका अनेक अपेक्षाहरूले थिचिँदा उनीहरू दबाबमा पर्छन् र आफैंलाई हानि पुर्‍याउने हर्कत गर्न थाल्छन्।

मानसिक स्वास्थ्य सम्बन्धी काम गर्ने बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालमा कार्यरत मनोविद् इन्दिरा प्रधानका अनुसार, परिवार, विद्यालय र साथीहरूबाट भावनात्मक सहयोग नपाउँदा धेरै किशोरकिशोरी ‘कन्भर्जन डिसअर्डर’ मा छन्। स्कूलहरूमा विद्यार्थी एकैचोटि बेहोस हुनु पनि मानसिक समस्याकै कारणले हो। “विभिन्न प्रकारका भावनात्मक समस्याले शुरूमा एक जना बेहोश हुन्छन्, त्यसको डरले अरू पनि बेहोश हुन थाल्छन्,” उनी भन्छिन्।

किशोरावस्थामा हर्मोनसँगै शरीरमा पनि बदलाव आउँछ। यिनै कुरा साथीहरूमाझ खिसीटिउरीको विषय बन्दा पनि किशोरकिशोरी तनावमा पर्छन्। मनोचिकित्सक अमात्य एउटा उदाहरण दिन्छिन्- पेप्सीकोलाकी १५ वर्षीया किशोरी दिनहुँजसो पेट दुख्यो भनेर स्कूल जान छाडिन्। पटक पटक अस्पताल पुर्‍याए पनि निको भएन। बरु रिसाउने, झर्किने, एक्लै बस्ने, खान मन नगर्ने समस्या थपियो।

अन्ततः कान्ति बाल अस्पतालमा उनलाई ‘एन्जाइटी’ भएको पत्तो लाग्यो। किशोरीको जुँगाको रेखी देखिएको कुरालाई साथीहरूले पटक पटक मजाकको विषय बनाउँदा उनी तनावमा परेकी रहिछन्। “बुलिङलाई सामान्य ठान्ने गरिए पनि यसकै कारण आत्महत्या र त्यसको प्रयास गरेका किशोरकिशोरी धेरै छन्,” अमात्य भन्छिन्।

“बुलिङलाई सामान्य ठान्ने गरिए पनि यसकै कारण आत्महत्या र त्यसको प्रयास गरेका किशोरकिशोरी धेरै छन्”
बेखबर परिवार

इन्टरनेटको बढ्दो सङ्गत किशोरकिशोरीमा मानसिक समस्या निम्त्याउने प्रमुख कारण बन्न पुगेको छ। कोभिड-१९ महामारीमा अनलाइन कक्षाको व्यवस्थासँगै इन्टरनेटमा बालबालिकाको पहुँच ह्वात्तै बढ्यो जसले उनीहरूलाई परिवार र समाजबाट अलग्याउँदै छ। “सामाजिक सञ्जालको अत्यधिक प्रयोग, पब्जी जस्ता इन्टरनेट गेम र लाइभ च्याटिङको असर धेरैको अनुमान बाहिर छ,” बाल मनोचिकित्सक कुँवर भन्छन्, “रातभर नसुती पब्जी खेलेर मानसिक स्वास्थ्य बिगारेका किशोरकिशोरी कैयौं छन्।”

कलिलो उमेरमा धेरै सोच्न र परिणामको विश्लेषण गर्न नसक्दा धेरै किशोरकिशोरी दुर्व्यसनमा समेत फसेका छन्। कान्ति बाल अस्पतालमा मनोपरामर्शका लागि पुग्ने १० मध्ये कम्तीमा एक जना दुर्व्यसनमा परेका हुन्छन्। १४/१५ वर्षको उमेरदेखि ‘क्लबिङ कल्चर’ मा भुल्ने किशोरकिशोरी बाबु-आमाका आँखा छलेर ‘डिस्को क्लब’ पुग्ने गरेका छन्।

बढ्दो आत्महत्या दर रोक्न सरकारले ‘सुसाइड प्रिभेन्सन हेल्प लाइन-१६६६’ सञ्चालन गरेको छ। उक्त हटलाइनमा कार्यरत मनोविद् मणि महर्जनका अनुसार, त्यहाँ प्रेमसम्बन्ध टुटेको, परिवारमा कलह भएको र पढ्न नसकेर आत्महत्याको सोच पलाएको भन्दै कल आउने गरेका छन्। कतिपय किशोरकिशोरी आफैं फोन गरेर समस्या सुनाउँछन्। “धेरैको गुनासो परिवारले आफ्नो समस्या नबुझेको भन्ने हुन्छ,” महर्जन भन्छन्।

मनोविद् पाठक छोराछोरीको समस्या नबुझी आफूखुशी मूल्याङ्कन गर्ने परिवारको शैली किशोरकिशोरीलाई मानसिक समस्यामा धकेल्न जिम्मेवार रहेको ठान्छिन्। “समस्या पटक्कै नसुन्ने, मात्र राम्रो परिणामको अपेक्षा गर्ने अभिभावकका कारण छोराछोरी भित्रभित्रै गुम्सिएका छन्,” उनी भन्छिन्।

टीपीओ नेपालले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखी देशका विभिन्न स्थानमा मनोसामाजिक कार्यकर्ता खटाएको छ। तिनैमध्येकी रञ्जु भण्डारीको भनाइमा प्रत्येक १० मध्ये चार जनामा कुनै न कुनै मानसिक र भावनात्मक समस्या छ। “कतिपय किशोरीमा सानै उमेरदेखि दाजुभाइलाई भन्दा फरक व्यवहार गरिँदा आत्मविश्वास कमजोर छ,” हाल वीरगञ्जमा खटिएकी भण्डारी भन्छिन्, “कतिलाई चाहिं ठूली भएपछि बाबुआमाले बिहे गरेर पठाइदिने डरले अहिलेदेखि नै बिरामी बनाउँदो रहेछ।”
himalkhabarbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार